Advertisement
SKIP THIS
सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

चितवन-चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ। असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन्। आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छन्

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुजिताको हत्या नभई उनले आत्महत्या गरेको निष्कर्ष नजिक पुगेको छ। त्यसैलाई आधार मानेर सुजिताको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएको हो। घटनामा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवक नाताले सुजिताको दाइ पर्ने जनाइएको छ । काठमाडौंमा पक्राउ परेका युवकलाई प्रहरीले शुक्रबार चितवन ल्याएको हो। शुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए। असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो।

सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि स्थानीयले दोषीलाई पत्ता लगाउनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध र प्रदर्शन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया