एजन्सी:आजकल यस्तो सफलता मानिसको कल्पनामा पनि आउँदैन होला । तर, ६१ वर्षअघि इथियोपियाका अबेबे बिकिलाले विश्वलाई चकित तुल्याएका थिए ।
हो, उनले विश्वकै गरिब मानिने देशलाई १९६० को रोम ओलम्पिकमा स्वर्ण दिलाए, त्यो पनि खाली खुट्टा दौडिएर । बिकिला खासमा ओलम्पिकमा पहिलो रोजाइमा थिएनन् । बामी विराटु घाइते भएपछि अन्तिम अवस्थामा उनले ओलम्पिक खेल्ने अवसर पाएका थिए, यतिबेला उनी बडिगार्डको काम गर्दै थिए ।
ठूला प्रतियोगिताको अनुभव नभएकै कारण उनलाई पदकको दाबेदार ठानिएको थिएन । धेरैलाई लागेको थियो, उनले ओलम्पिक खेल्न पाउनु नै ठूलो हो । ओलम्पिकमा सोभियत युनियनका सर्जि पोकोभ प्रमुख दाबेदार थिए, जसको नाममा त्यतिबेला सर्वाधिक छिटो २ घण्टा १५ मिनेट १७ सेकेन्डमा म्याराथन कुद्ने कीर्तिमान थियो ।
अमेरिका र सोभियतबीच विश्वको महाशक्ति को ? भन्नेमा प्रतिस्पर्धा थियो । भूराजनीति, आणविक हतियारदेखि अन्तरिक्ष दौडसम्म चलेको प्रतिस्पर्धाको बाछिटाबाट ओलम्पिक खेल मुक्त थिएन । त्यहीकारण यी देशले आफ्ना खेलाडीलाई विश्वकै उत्कृष्ट सेवा–सुविधा र ट्रेनिङ उपलब्ध गराएका थिए । गरिब देश इथियोपियाका धावक अबेबेसँग ओलम्पिक खेल्न आउँदा एक जोर जुत्तासम्म थियो । तर, ट्रेनिङका क्रममा त्यो पनि च्यातियो ।
उनलाई आयोजकले नयाँ जुत्ता उपलब्ध नगराएको होइन । तर, यो लगाएर ट्रेनिङ गर्दा खुट्टामा फोका आयो । इथियोपियाका समथर फाँटहरुमा खाली खुट्टा दौडन माहिर यी धावकलाई जुत्ता भारी भइरहेको थियो, त्यसैले प्रतियोगितामा खाली खुट्टै दौडने निधो गरे ।
रोमको गर्मीलाई मध्यनजर राख्दै घाम ढल्कन थालेपछि दौड सुरु गरिएको थियो । र, प्रतिस्पर्धा सकिँदासम्म शहर अन्धकारमय भइसकेको थियो, जहाँ अबेबे चम्किए । उनले २ घण्टा १५ मिनेट १६ सेकेन्डमा दौड पूरा गरे, जो त्यतिबेलाको विश्व कीर्तिमान नै थियो । दोस्रो भएका मोरक्कोमा रादी बेन अब्देसलेमभन्दा उनी २५ सेकेन्डले अघि थिए ।









