Advertisement
SKIP THIS
पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु

धादिङ:अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा खसेको पहिरोले चारवटा सवारी साधनमा क्षति पुगेको छ ।

पहिरोमा पुरिएका चार सवारीमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको मात्र पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई सवारी साधनको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

चेपाङको शब ट्रकमा चेपिएको अवस्थामा छ भने सोनी देवीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए

ठूलो पहिरोपछि लेदो माटो झर्ने क्रम नरोकिएकाले राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि मात्र खोजी गर्न सकिने प्रहरीले बताएको छ ।

सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिकाको लगायतका सडक पहिरोले अबरुद्ध भएको छ ।

त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

बाढीले पक्की पुल बगायो, १ सय ३४ परिवार जोखिममा
अविरल बर्षापछि थाक्रे गाउँपालिकाको आग्राखोलामा बाढी आउँदा खोला किनारका १ सय ३४ परिवार समस्यामा परेका छन् ।

खोला किनारमा मजदुर तथा सुकुम्बासी परिवार बस्दै आइरहेका छन् । ती सबैलाई राती नै उद्दार गरी सुरक्षित स्थानमा सारिएको थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिइन ।

त्यसैगरी धादिङको गल्छी गाउँपालिका स्थित बैरेनी बजारमा रहेको गर्दो खोला थुनिँदा सडक जलमग्न हुन पुगेको छ । बाढीले खोला थुनिएर पृथ्वीराजमार्गबाट भल बगेपछि सवारी आवागमन ठप्प हुन पुगेको छ ।

तपाईको प्रतिक्रिया