Advertisement
SKIP THIS
मोबाइल एपबाटै खसी बोका बिक्री ,बढायो ब्यापार

काठमाडौं : कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यमी महिला सहकारी सस्थाले यो आर्थिक वर्षमा करिब एक करोड बराबरको बाख्रा बिक्री वितरण गरेको छ।

पहिला व्यापारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए। बाँकेको राप्ती सोनारी गाउँपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ। घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका–२ का किसानहरु बाख्रा पालनतर्फ आकर्षित भएका छन्।

बाख्रापालन गर्नका लागि गाउँमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्री वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ। सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर आम्दानी गरिरहेका छन्।

पहिला किसानहरुले सहकारीलाई र सहकारीले व्यापारीहरुलाई बिक्री गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्री हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो।

तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको वर्षदेखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरुलाई पनि सहज भएको छ। कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट एक करोड बराबरको बाख्रा बिक्री गरेको सहरकारीका अध्यक्ष गणेश खत्रीले बताए।

गाउँका मानिसहरुले बाख्रा पालनबाट राम्रो आम्दानी गर्न थालेपछि विगत लामो समयदेखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन सुरु गरेकी छिन्। दिल कुमारीसँग अहिले एउटा बोयर बोका र स्थानीय जातका ३० बढी बाख्रा पाठापाठी छन्।

गाउँको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले उनी आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको बताइन्। राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरुसँग साझेदारी गरेर काम गरिरहेका छन्।

किसानहरुले उत्पादन गरेका खाद्यान्न तथा बाख्रा, कुखुरालगातका उपजहरु खरिद बिक्री वितरण गरिरहेका छन्। किसानले उत्पादित बस्तु सजिलै बिक्री वितरण गर्नका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सञ्चालन गरेको कृषि पथ मोबाइल एपलाई स्थानीय सरकारले पनि प्रयोग गरेर प्रभावकारी बनाइ दिए किसानहरुले विचौलियाबाट सधैँको लागि छुटकारा पाइने बताएका छन्।

तपाईको प्रतिक्रिया