Advertisement
SKIP THIS
दुई दिन भित्र हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदलाई ओलीको निर्देशन

काठमाडौं:एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदलाई निर्देशन दिएका छन्।

बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्। संविधानको धारा ७६ उपधारा ५ अनुसार देउवाले नेपाल पक्षका समेत गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दै राष्ट्रपतिसमक्ष दाबी पेस गरेका भए पनि प्रधानमन्त्री ओलीले त्यसअघि नै आफ्ना पक्षमा १५३ सांसद रहेको दाबी गरेपछि दुवैको दाबी खारेज गरिएको थियो भने गत जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिसअनुसार प्रतिनिधि सभा नै विघटन गरिदिइन्।

त्यसविरुद्ध देउवाले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् भने अहिले त्यसको सुनुवाइ जारी छ। उनीसमेत १४६ सांसदको हस्ताक्षर रहेको रिट निवेदनमा नेपाल पक्षका सांसदले समेत हस्ताक्षर गरेका छन्। त्यही हस्ताक्षर फिर्ता लिएर पार्टीमा एकता कायम गर्न ओलीले माधव नेपाल पक्षसँग आग्रह गरिरहेका छन्। ओलीले यसअघि पनि पार्टी एकताका लागि भन्दै नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गर्दा पनि हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेका थिए। जसलाई नेपाल पक्षले अस्वीकार गरिरहेको छ।

घोषणाअनुरूप स्थायी कमिटीबाट पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काइएको निर्णय गराए पनि ओलीले २०७८ फागुन २८ गते थपिएका बादलसहितका नेतालाई राखेर केन्द्रीय कमिटी कायम गरेका छन्।

तपाईको प्रतिक्रिया