काठमाडौं :नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै असार १८ गते जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएको हो ।
मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि तय गरेको छ ।
माओवादीसँग पार्टी एकता हुनुअघि २०७५ जेठ २ अघि नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । ओलीले यसमा पूर्व माओवादीका २३ जनालाई थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका थिए । अब यो आयोजक समिति विघटन गरी बादलहरू बाहेकको पुरानै २४१ सदस्यीय एमालेको केन्द्रीय कमिटी बोलाउन केपी ओली तयार भएका छन् ।
ओली पक्षले जेठ २ मा फर्कने बताए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडानबाट नेपाल पक्ष पछाडि हटेको छैन । प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा सार्वजनिक रुपमा माफी मागेर निर्णय फिर्ता नलिएसम्म हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षका नेताहरुले बताउँदै आएका छन् ।
सर्वोच्चमा बुझाएको हस्ताक्षरबारे अब अदालतले नै निर्णय गर्ने भन्दै यसलाई जेठ २ मा फर्कने कुराको शर्त बनाउन नहुने नेपाल पक्षका एक नेताले बताए । उनले भने,‘यसबारे अब अदालतले जे गर्छ, त्यहीअनुसार हुन्छ ।’
त्यसो त असार १८ मा ओली पक्षले डाकेको बैठकअघि नै दुईपक्षीय वार्ता गरेर प्याकेजमा सहमति हुनुपर्ने नेपाल पक्षका नेताहरुको बटमलाइन रहेको नेताहरु बताउँछन् ।