काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी आधिकारिकताका लागि फेरि निर्वाचन आयोग जाने निर्णय गरेको छ।
आज बसेको बहुमतसहितको कार्यकारिणी समितीको बैठकले फेरि निर्वाचन आयोग जाने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए। यसअघि दुवै पक्षले आधिकारिकताको दाबीसहितको निवेदन दिएको भएपनि आयोगले खारेज गरेको थियो। लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीप उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको समेत उनले बताए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन गर्ने भन्ने बिषयले जसपा विभाजित छ। अध्यक्ष यादव पक्ष ओली सरकार बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा लागेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भएकाे छ।
यस्ता छन् ४ निर्णय
-पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने
-लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउने
-ओली प्रतिगमनविरुद्ध एकढिक्का हुन पार्टीका सबै निकायलाई निर्देशन जारी गर्ने
-चुरे क्षेत्र विनाशकारी हुने निर्णय फिर्ताका लागि आग्रह गर्ने