Advertisement
SKIP THIS
कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भए

काठमाडौं:कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । अचानक मुटु दुख्न थालेपछि उनलाई गएको शुक्रबार राति १ बजे गंगालाल अस्पताल लगिएको थियो ।

अस्पतालमा तीन दिन उपचारपछि उनी बुधबार दिउँसो करिब १ बजे घर फर्किएका हुन् । छोरी सरानाका अनुसार चिकित्सकले आराम गर्न सुझाव दिएका छन् ।

“धेरै तलमाथि नगर्न, धेरै नबोल्न, भ्वाइस रेस्टमा बस्न भन्नुभएको छ । ड्याडीलाई अझै केही समय पूर्ण आराम गर्न भन्नुभएको छ,” सरानाले बताइन् ।

उनका अनुसार मदनकृष्णको स्वास्थ्य अवस्था अहिले सामान्य भइसकेको छ । अब पहिलेजस्तै बलियो हुन पूर्ण आरामको आवश्यकता छ ।

मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएर उनलाई अचानक अत्यधिक मुटु दुखेको थियो । शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।

यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो ।

गएको वैशाख ६ गते परिवार सबै सदस्यसहित मदनकृष्णको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । परिवारका बाँकी सदस्यको रिपोर्ट नेगेटिभ आइसकेको छ भने उनको रिपोर्ट अझै पोजिटिभ नै छ ।

तपाईको प्रतिक्रिया