काठमाडौं:नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान १० बजे बैठक बस्ने भनिएको बैठक लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण फेरि स्थगित भएको छ ।
आइतबार बस्ने तय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको थियो । उनले भने, ‘आज लुम्बिनीको राष्ट्रियसभा निर्वाचन छ । त्यतातिर केन्द्रित हुनपर्ने भएकाले बैठक सरेको छ ।’
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन हुँदैछ । सोमबार बस्ने भनिएको बैठक मंगलबार विहान ११ बजेसम्मका लागि सरेको तामाङको भनाइ छ ।