काठमाडौं : सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्याएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। यसअघि भत्ता ३ हजार रहेको थियो।
सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।
२०५२ सालमा तत्कालिन एमालेको अल्पमतको सरकारले मासिक १ सय दिने गरि बृद्ध भत्ता शुरु गरेको थियो।
नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम मातहत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिन शुरु गरेका थिए ।
पछि भरतमोहन अधिकारी नै अर्थमन्त्री भएकाबेला २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पारेको उक्त रकम २०७१ सालमा नेपाली कांग्रेस सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ हजार रुपैयाँ पुर्याए।
अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।
मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।