काठमाडौँः पछिल्लो २४ घन्टामा ८ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो।
सो अवधिमा सङ्क्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ।
मंगलबार काठमाडाँैमा दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन्। काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६ छन्। ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ।
४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित
पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ। मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन्।
यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ। सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन।
नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ। ती मध्ये ६१।७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८।२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन्। सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेको दर ७४।६ प्रतिशत रहेको छ। हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन्।










