Advertisement
SKIP THIS
नेकपालाई पचेन दुई तिहाई

काठमाडौं:प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढलेको छ । शुरुमा सरकारसँग झण्डै दुई तिहाई बहुमत थियो ।

तर, नेकपाको विभाजन अनि एमालेभित्रको अन्तरकलहका कारण कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार पाँच वर्षसम्म सरकार चलाउन नसकेको हो ।  

कम्युनिष्ट सरकारले पाँच वर्ष काम गर्न नसक्नुमा एकले अर्कोलाई आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालले केपी ओलीकै कारण यो स्थिति आएको बताएका छन् भने ओलीले चाहिँ प्रचण्ड र माधव नेपालमाथि दोष लगाएका छन् ।

सत्तारुढ दल नेकपा एमालेभित्र गत फागुनदेखिको विवाद कायमै छ । खनाल–नेपाल पक्षले सर्वोच्चको आदेश अनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेको दावी गर्दै आएको थियो भने पार्टी अध्यक्ष ओलीले खनाल–नेपाल पक्षको अनुपस्थितिमा एकलौटी ढंगबाट गरिएको निर्णयबाट पछि नहट्ने अडान लिएका थिए ।

एमालेभित्र जारी यही विवादका कारण पनि ओली नेतृत्वको सरकार कुनै पनि बेला संकटमा पर्ने अवस्था कायमै थियो । अझ कर्णाली प्रदेश प्रकरणले त कुनै पनि समय एमालेका असन्तुष्ट सांसदले फ्लोर क्रस गर्न सक्ने र सरकार ढाल्न सक्ने सम्भावनालाई बलियो तुल्याएको थियो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका असन्तुष्ट पक्षलाई कारवाहीको त्रास देखाउने र जसपा नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग समर्थनको अपेक्षा गर्दै सरकारमाथिको संकटलाई टार्न सकिने विश्वास लिए । तर, पछिल्लो अवस्थासम्म आइपुग्दा न एमालेको खनाल–नेपाल पक्षले सांसद पदको लालच गर्यो, न त जसपा नेपालबाट प्रधानमन्त्री ओलीले अपेक्षा अनुसार साथ पाउने अवस्था रह्यो ।

तपाईको प्रतिक्रिया