एजन्सी: कोरोना महामारीका कारण सन् २०२० देखि अमेरिकाको उड्डयन उद्योग ठप्प भएको छ । तर अब स्थिति सुध्रन थालेको अवस्थामा एयरलाइन्स कम्पनीले आफ्ना पाइलटलाई फिर्ता बोलाउन सुरु गरेको छ । तर उनीहरु त्यतिबेला आश्चर्यमा परे जब अनुभवी पाइलट पनि गल्ती गर्न थाले । ती पनि त्यस्ता गल्ती जुन उनीहरुले पहिले कहिले गरेका थिएनन् । यी स्थितिलाई गम्भीर मानेर अब उनीहरुलाई तालिम दिइँदैछ ता कि कुनै पनि यस्ता ठूला दुर्घटनाबाट बच्न सकियोस् ।
पाइलटद्वारा गरिएका गल्ती नासाको सेफ्टी रिपोर्टिङ सिस्टममा दर्ता गरिएको छ । एक पाइलटले जहाज अवतरण गर्नेबेला नियन्त्रण गुमाए र जहाज खाल्डोमा खस्यो । यस्तै अर्का पाइलटले एन्टी आइसिङ सिस्टम चालू गर्न नै बिर्सिए जसले जहाजलाई चिसो मौसमबाट बचाउँछ । कतिलाई ती उचाई याद भएन जहाँ जहाज उडाइन्छ । साथै त्यस्ता पनि पाइलट थिए जसले कम्युनिकेशन सिस्टम राम्रोसँग प्रयोग गर्न सकेनन् ।
ब्रिटिश चार्टर एयरलाइनको टाइटन एयरवेजका भूतपूर्व पाइलट जो टाउनशेड भन्छन्, ‘जहाज उडाउनु साइकल चलाउनु जस्तो होइन । एउटा पाइलटले १० वर्षको अन्तरालमा पनि जहाजलाई हावामा ल्याउन सक्छन् तर अन्य काम कारवाहीमा समस्या आउन सक्छ । विभिन्न तरिकाको सूचना तपाईंले लगातार प्रोसेस गर्नुपर्छ र यस्तो समयमा दिमागलाई चुस्त राख्ने एउटै तरिका छ – लगातार काम गरिरहने ।
नयाँ निर्देशः विमान र पाइटल दुबैसँग अभ्यास
सन् २०२० मा एयर पेसेन्जर ट्राफिक ६६ प्रतिशतसम्म खस्किएको थियो । यसका कारण कि त पाइलटलाई निकालिएको थियो कि त १२ महिनासम्म छुट्टी दिइएको थियो । यतिमात्रै होइन, पाइलटका साथै जहाज पनि निकै लामो समयदेखि थन्किएका छन् । लामो अन्तरालपछि उडान भर्नेबेला यसले कस्तो काम गर्नेछ, त्यो पनि थाहा पाउन आवश्यक छ । युरोपेली एभियसन सेफ्टी एजेन्सीले कुनै दुर्घटना नहोस् भन्नका लागि जहाज र पाइलट दुबैले एकैपटक अभ्यास गर्नुपर्ने निर्देशन जारी गरेको छ ।