Advertisement
SKIP THIS
एउटा शय्यामा तीन कोरोना संक्रमित

वीरगन्ज:बिरामीको चाप बढेपछि वीरगन्जको नारायणी अस्पतालको आकस्मिक विभागको एउटै शय्यामा तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ । संक्रमण दर उच्च रहेको पर्सामा उपचारार्थ आउनेका तुलनामा शय्या अपुग छ ।

संक्रमितको उपचारका लागि अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो । संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि पुष्टि भएका संक्रमितसँगै राखेर उपचार थालिएको छ । वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितको संख्या निकै बढेको छ । ‘दिनदिनै नयाँ–नयाँ मान्छे कडा खालको संक्रमण बोकेर अस्पताल आइरहेका छन्,’ उनले भने ।

एक रातमा ठूलठूला ५० वटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनले बताए । ‘होम आइसोलेसनमा बसेका संक्रमित र तिनका परिवारले फोन गरेर अक्सिजन लेभल तल गयो, अस्पतालमा बेड मिलाइदिनुपर्‍यो भनिरहेका छन्,’ उनले भने, ‘सरकारी अस्पतालको आइसोलेसन वार्ड मात्र होइन, निजी अस्पताल पनि संक्रमितले भरिएका छन् । मैले कहाँ र कसरी बेड मिलाउँ ?’

अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार नारायणीको आइसोलेसनमा ४९ जनाको उपचार भइरहेको छ । ‘भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिइरहेका छौं,’ उनले भने । दुई सातामा नारायणी अस्पतालमा परीक्षण गराउनेमध्ये ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया