Advertisement
SKIP THIS
टीकापुरमा हात्ती आतङ्क,बस्तीमा पसेर घर भत्कायो

रासस टीकापुर ५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ। बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो।

‘‘घरमा तीन जना थियौँ । राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो’’, उनले भने, ‘‘घरको बीचमा भित्ता भएर बाच्यौँ, एउटा भित्ता भत्काइसकेपछि अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला।’’

बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएका टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए।

‘‘टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो। “हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’’, उनले भने , ‘‘गाउँले निकै डराएका छन्। रातभरि सुतेका छैनन्।’’

केही वर्षअघि पनि टीकापुरमा हात्ती आएको थियो। हात्तीले करीब ६ वर्षअघि टीकापुर पार्कमासमेत क्षति पु¥याएको थयो।

‘‘हात्ती पार्ककै जङ्गलमा रहेको छ। अझैँ हात्ती कर्णाली नदीपारी नगएकाले गाउँमा त्रास कायमै छ’’, स्थानीयवासी गम्भीर चौधरीले भने, ‘‘नुक्लीपुर आसपासमा त्रास बढेको छ।

यहाँ जङ्गली हात्ती मात्र नभइ अन्य जङ्गली जनावरको समेत डर रहेको छ।’’ पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उनले बताए।

तपाईको प्रतिक्रिया