Advertisement
SKIP THIS
सुदूरपश्चिमका पूर्व आर्थिक मन्त्री झपटबहादुर बोहरालाई कारबाही

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई कारबाहीको लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पार्टीका नेता एवं पूर्वमन्त्री बोहरालाई कारबाहीका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको हो।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार सचिवालयमा कारवाहीको लागि पत्र दर्ता गराएको जानकारी दिए। प्रमुख सचेतक रावलका अनुसार माओवादी केन्द्रको केन्द्रीय समितिले चैत ३१ गते पूर्व मन्त्री बोहरालाई कारवाहीको लागि निर्णय गरेको थियो।

प्रमुख सचेतक रावलले भने, “राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ३४ अनुसार सांसद पदबाट निस्कासन गरिएको सूचना प्रदेश सभा सचिवालयमा जानकारी गराएका छौ।”

बोहरा अछाम निर्वाचन क्षेत्र नं। १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

तर उनी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले चैत २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको थियो।

पूर्व मन्त्री बोहरा साविक नेकपामा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए। उनी ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय सदस्यमा समेत मनोनित भएका पूर्वमन्त्री बोहराले गत पुस २२ गते पदबाट राजीनामा दिएका थिए।

प्रदेश सभा सचिवालयमा कारवाहीको लागि पत्र दर्ता भएपछि संसद चलेको अवस्थामा सभामुखले संसदमा जानकारी गराउनुपर्ने प्रावधान रहेको छ। संसद नचलेको अवस्थामा पत्र दर्ता भएको १५ दिनभित्रै सूचना टाँस गर्नुपर्ने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया