नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने जिकिर समेत गरे ।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।
‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, उनले भने, ‘ यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको र सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न नहुनेमा जोड दिए ।