दार्चुला:दार्चुलामा मादक पदार्थ सेवन गरेका पत्रकारले व्यापारी र प्रहरीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ।
आइतबार राति जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वमा पत्रकारहरूले सुनचाँदी व्यवसायी महेश निरौला र अस्थायी प्रहरी पोस्ट गोकुलेश्वरका प्रहरी जवान देवराम महरमाथि हातपात गरेका हुन।
पत्रकार भुपेन्द्र धामी र अमर खत्रीले मादक पदार्थ सेवन गरी सुनचाँदी व्यवसायी निरौलालाई कुटपिट गरी घाइते अवस्था छोडेका थिए। निरौलाले आफूमाथि कुटपिट भएको बताउदै प्रहरीलाई उजुरी गरेपछि पत्रकार धामी र खत्रीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रहरी जवान महरमाथि समेत कुटपिट गरेको प्रहरीले बताएको छ।
घाइते निरौलाको शरीरभरी चोटपटक लागेको छ भने, प्रहरी जवान महरको हत्केलामा चोट लागेको बताइएको छ।
नियन्त्रणमा लिएपछी धामी र खत्रीको हिजो राति नै स्वास्थ्य जाँच गर्दा मदिरा सेवन गरेको रिपोर्ट आएको गोकुलेश्वर अस्पतालका डाक्टर नयज अन्सारीले बताए।
धामी र खत्रीको कुटाइबाट घाइते भएका व्यवसायी निरौला र प्रहरी जवान महरको उपचार भइरहेको छ।
उनीहरुको उपचार गर्ने शर्तमा एक रात थुनामा राखिएका दुवै पत्रकारलाई सोमबार विहान रिहा गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।