काठमाडौं:दक्षिण अफ्रिदी ब्याट्सम्यान एबी डी भिलियर्स आगामी असोजमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० खेल्न आउने भएका छन् ।
आयोजक ईपीएलका म्यानेजिङ डिरेक्टरले यस पटक डी भिलियर्स ईपीएल खेल्न आउने विषयमा सकरात्मक रहेको बताए ।
‘डी भिलियर्ससँग कुरा सकरात्मकरुपमा अघि बढिरहेको छ । उसले हुन्न भनेको छैन । खेल्न चाहन्छु भनेको छ । धेरै कुरा मिलिसकेको छ,’ अख्तरले भने, ‘उसले आईपीएल पनि खबर गर्छु भनेको छ । टिम पनि त्यसपछि नै फिक्स्ड हुनेछ । उनलाई नेपालमा खेल्न मन लागिरहेको छ । तर आईपीएल पनि नै यसबारे निर्णय गर्छु भनेको छ ।’
गत वर्ष मार्चमा तय भएको इपीएलको चौथो संस्करण कोरोना महामारीको कारण स्थगित भएको थियो । त्यतिबेला पनि डी भिलियर्सलाई नेपाल ल्याउने प्रयास गरिएको थियो । तर इन्डियन प्रिमियर लिगको समय पनि त्यही भएकोले नेपाल आउने समय मिलेको थिएन । यद्यपि आईपीएल पनि ढिला गरी युएईमा आयोजना भयो भने ईपीएल पनि हुन सकेन ।
यसपटक आयोजकले दशैँको मौसममा ईपीएल गर्न लागेको छ । सोही समयमा अन्तर्राष्ट्रिय क्यालेन्डर पनि टाइट छैन ।
त्यसैले पनि विदेशी खेलाडी आउन सहज हुने अख्तरले बताए । ‘यस पटक विन्डो पनि राम्रो रहेकोले खेल्न इन्ट्रेस्ट छ । पहिला मार्चमा ईपीएल भएकोले आईपीएल पनि त्यही डेटमा थियो ।
‘इन्जुरीको पनि कन्सर्न थियो । यसपटक सेप्टेम्बरमा डेट भएकोले उसलाई डेटको खासै समस्या छैन,’ अख्तरले भने, ‘हामी पैसाको नेगोसिएसन गर्दैछौँ । कुन टिममा आउने कति खेल खेल्ने पछि टिमले नै घोषणा गर्नेछ ।’
युनिभर्स बोस क्रिस गेल गत वर्ष नै ईपीएल खेल्न आउने पक्का भएको थियो । तर कोरोनाले गर्दा त्यो सम्भव भएन । उनलाई पोखरा राइनोजले अनुबन्धसमेत गरिसकेको थियो ।
गेललगायत अन्य विदेशी खेलाडीहरुसँग कुरा भइरहेको र उनीहरु पनि आउन इच्छुक रहेको अख्तरले बताए । ‘यसपटक टुर्नामेन्टको समय राम्रो छ । गेल, कार्लोस ब्रेथवेइट, कोरे एण्डरसनहरुसँग पनि कुरा भइरहेको छ ।’
ईपीएलको लक्ष्य नेपाली क्रिकेटको स्तर बढाउँदै विश्वसम्म पुर्याउने भएकोले नाम चलेका विदेशी खेलाडीहरु नेपाल आउँदा यसले फाइदा पुग्ने अख्तरले बताए ।