काठमाडौं: सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भिडभाड हुने गतिविधिमा रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकसहित विश्वका विभिन्न देशहरुमा कोरोना संक्रमणको दर बढ्दै गएकोले नेपालमा पनि सतर्कता अपनाउन भन्दै भिडभाड हुने गतिविधिमा रोक लगाएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतसहित विश्वका विभन्न मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएको र नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायतका काममा रोक लगाइएको बताए।
उनले भौतिक दुरी कायम गर्न, स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै सरकारले यसअघि तोकेका जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि सबैलाई आग्रह गरे।
नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको र भारतसँगको खुला सीमानाका कारण जोखिम उच्च हुने भएकाले हाललाई भिडभाडयुक्त गतिविधि नगर्न नगराउन भनिएको पनि डा. गौतमले उल्लेख गरे।