पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताए । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उनले भने ।
खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताए । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उनको भनाइ छ ।
उनले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गरे । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।