Advertisement
SKIP THIS
धनकुटास्थित रेडियो मकालुका कर्मचारीद्वारा सामूहिक राजीनामा, प्रशारण बन्द

धनकुटा :धनकुटास्थित रेडियो मकालुका सातजना सञ्चारकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले शुक्रबार व्यवस्थापन समक्ष राजीनामा पेश गरेका छन्। कर्मचारीहरुले सामूहिक राजीनामा दिएपछि रेडियो प्रशारण समेत बन्द भएको छ।

रेडियोको समाचार शाखा, विज्ञापन शाखा, प्राविधिक शाखा र कार्यक्रम शाखाका सञ्चारकर्मी तथा कर्मचारीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा प्रेमा मादेम्बा, माया राउत, सन्तोष सुवेदी, राजकुमार राई, चाँदनी राई, लक्ष्मी राई, विमला रायमाझी रहेका छन।

उनीहरुले रेडियो व्यवस्थापन पक्षले बाध्य पारेकाले राजीनामा दिएको बताएका छन्। व्यवस्थापनले बिनासल्लाह तीन महिनाको पारिश्रमिक कोरोना महामारीको कारण देखाउँदै कटौती गर्ने निर्णय गरेको र आगामी बैशाखदेखि मासिक रुपमा दिँदै आएको पारिश्रमिक उपलब्ध गर्न नसकिने भनी राजीनामा दिन बाध्य पारिएको सञ्चारकर्मी र कर्मचारीहरुको दाबी छ।

पारिश्रमिक पाउन पटकपटक रेडियो प्रशासनसँग माग राख्दा आश्वसन मात्र दिइएको उनीहरुको भनाइ छ। पारिश्रमिक माग गर्दै गत माघ १२ गते निवेदन दिएपछि सञ्चालक समितिका अध्यक्ष सोविश चेम्जाङ, स्टेशन म्यानेजर सन्तोष रुचाल र कर्मचारीबीच छलफल हुँदा पहिलो चरणमा २०७७ चैत मसान्तसम्म बाँकी पारिश्रमिक उपलव्ध गराउने आश्वासन दिए पनि पछि बोर्डको निर्णय भन्दै तीन महिनाको पारिश्रमिक कटाउने निर्णय सुनाइएको पत्रकार तथा कर्मचारीहरुको दाबी छ।

यता सञ्चालन समितिका अध्यक्ष चेम्जोङले कोरोना महामारीका कारण रेडियोमा आर्थिक समस्या भएको र कर्मचारीहरुलाई मासिक रुपमा तलब दिन नसकिने भएकाले आगामी वैशाखदेखि आंशिक रुपमा मात्र काम दिन सकिने सहमति भएको दावी गरे। कोरोनाका कारण रेडियोमा पाँच महिना जति आर्थिक संकट भएकाले सबैसँग बसेर उक्त अवधिको सहयोग स्वरुप गणना गरिने भन्ने अनौपचारिक सहमति भएको बताए। ‘उहाँहरुलाई काम छोडेर जानुस् भनेको होइन, विकल्प खोजौं भनेको मात्र हो,’ अध्यक्ष चेम्जोङले भने, ‘उहाँहरुको मागअनुसार नै धन्यवाद पत्र र अनुभव पत्र पनि दिइसकिएको छ।’

स्टेशन म्यानेजर रुचालले सौहार्दपूर्ण वातावरणमा सबैसँग छलफल भएको हो तर के कारणले उनीहरुले राजीनामा दिए भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

 

तपाईको प्रतिक्रिया