Advertisement
SKIP THIS
अन्नपूर्ण पोष्टका २८ जना पत्रकारले सामूहिक राजीनामा

काठमाडौं : राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरूले २०७८ साल वैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन् ।

क्याप्टेन रामेश्वर थापाको प्रकाशनमा प्रकाशित हुँदै आएको उक्त प्रकाशन गृहका पत्रकार एक पत्र लेख्दै सामुहिक राजीनामा दिएका हुन्।

‘अखण्ड भण्डारीले २०७७ फागुन २० गते साँझ ६ बजे मिटिङ छ भनी आफ्नो कार्यकक्षमा बोलाएर सबैलाई पत्रिका बन्द गरी डिजिटाइजमा जाने निर्णय भएको र सबै जनाले राजीनामा दिनुपर्ने भनी माथिको निर्देशन आएको सूचना दिएर राजीनामा गर्न लगाएका हुन्,’ पत्रकारहरूले राजीनामापत्रमा लेखेका छन्‌, ‘श्रमजीवी पत्रकारले पाउनु पर्ने सेवासुविधा, न्यूनतम् पारिश्रमिक लगायतको व्यवस्था रहेकामा कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी, गत दशैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा श्रमजीवी पत्रकारलाई दिइनु पर्ने क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकम लगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाबकिताब गरी भुक्तानीको व्यवस्था मिलाउन पनि अनुरोध गर्दछौं।’

लामो समयदेखि सेवा सुविधा नदिएको भन्दै अन्नपूर्णले पत्रकारहरू यसअघिदेखि नै आन्दोलित थिए। यसबीचमा केही पत्रकारहरू बाहिरिएका थिए।

कोभिडका कारण आधा तलब दिएको संस्थाले पुसबाट कार्यालयमा नै बोलाएर काम गराएपनि पत्रकारहरूलाई पूरा तलब नदिएको एक पत्रकारले जानकारी दिए।

‘पूरा समय काम गरेपछि पूरा तलब दिनुपर्छ, तर संस्थाले पत्रकारको रगत चुस्ने काम गरेको छ’, ती पत्रकारले भने, ‘यहाँ कार्यरत पत्रकारहरूले विगत १९-२० वर्षदेखि काम गरिरहनुभएको छ, उहाँहरूको संचय कोष, उपदान र सेवा सुविधा लगायतबारे संस्थाले सम्मानजनक रूपले उपलब्ध गराउनुपर्छ।’

संस्थाले राजीनामा स्वेच्छाले भन्दापनि आदेशात्मक रूपमा दिन लगाएको उनको आरोप थियो। आज २८ जनाले सामुहिक राजीनामा दिएपनि बुधबार पनि दुई जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेका छन्‌।

 

तपाईको प्रतिक्रिया