नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद गुलाबजंग शाहले जानकारी दिए। उनका अनुसार बैठकले मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन दिएको छ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।
बैठकमा माधव नेपाल पक्षका सांसद अनुपस्थित थिए । बैठकमा नआएका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय भएको शाहले बताए।