काठमाडाैं:सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ।
फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ। ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो। हाल नेपाल पक्षले देशव्यापी रूपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ। ‘बुधबार सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजार पाँच सय कार्यकर्ता सहभागी हुँदैछन्।
पार्टी एकता जोगाउन र पार्टीलाई अझ बलियो बनाउन भेला आयोजना गरिएको हो’, नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने। उनका अनुसार भेलाको सबै तयारी पूरा भइसकेको छ। नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा जुटेका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।