निर्वाचन आयोग पुग्यो एमालेको विबाद
काठमाडौं:अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरीत केन्द्रीय सदस्य नियुक्त गरिएको र अवैधानिक रूपले जिम्मेवारी हेरफेर गरिएको भन्दै नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले त्यसलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई पत्र लेखेको छ।
शुक्रबार प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी रूपमा केन्द्रीय कमिटी बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो।
पार्टी एकता भंग भए पछि माओवादी केन्द्रमा फर्किन नचाहेका गृहमन्त्री राम बहादुर थापा सहितका २३ जनालाई केन्द्रीय कमिटीमा ओलीले नियुक्त गरेका थिए।
वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहित ११ जना स्थायी कमिटी सदस्यले आइतबार आयोगलाई चिठी लेख्दै विधान विपरीत र अवैधानिक तरिकाले भएका निर्णयलाई मान्यता नदिन माग गरेका छन्।