काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको कि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ? यो मुद्दाको छिनोफानो आज हुँदैछ ।
अदालतमा सार्वजनिक विदाका कारण विहीवार हुन नसकेको नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो ।
नेकपा अध्यक्ष ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि विहीवार निर्णय सुनुवाईको मिति तोकिएको थियो ।
तर यसबीचमा पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण विहीवार अदालतहरुमा विदा दिइएका कारण निर्णय सुनुवाई सरेको थियो । न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेल आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।
निर्वाचन आयोगले कट्टेलको मागविपरित निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि २ वर्षपछि फैसला हुन हुन लागेको हो ।
सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।
दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानुनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।