काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ ।
सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ ।
‘आइतबारदेखि सदन चल्दैछ । नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिकार गरिनेछ,’ ओली समूहका एक सांसदले भने ।
उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिइ कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो ।
‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरुलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन ।
ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।