टेकराज भण्डारी अछाम : अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा कायम देखि सबैसंग समन्वय गर्दै अघि बढ्ने बताए ।
हालै सरुवा भएर अछाम आएका प्रमुख जिल्ला अधिकारी मल्लसंग आज अछाम जिल्लाका सञ्चारकर्मीसंग भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तथा कार्यक्षेत्रमा पर्ने विभिन्न कार्य गर्ने बताए ।
शान्ति सुरक्षा र अमन चयन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, संघ, प्रदेश र स्थानीय तहको सरकारवीच समन्वय गर्ने, शुशासन कायम गर्न आवश्यक अनुगमन तथा मूल्यांकन गर्ने काम जारी राख्ने बताए ।
आफु भर्खरै आएको कारण अहिले आफुले गरेका कामको विवरण नभए पनि जिल्लामा शान्ति सुरक्षा, शुशासन, विकास निर्माणका कार्यको अनुगमन, सहकारीता तथा सहअस्तित्वका आधारमा समन्वय, विकास निर्माणका कामको प्रभावकारी अनुगमन तथा मूल्यांकन गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी मल्लले बताए ।
सेवा प्रवाह प्रभावकारी हुनुपर्ने र यो वा त्यो वाहनामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिने लगायतका कार्य हुन नदिने भन्दै प्रमुख जिल्ला अधिकारी मल्लले महिला, दलित, जेष्ठ नागरिक, सीमान्तीकृत समुदाय लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले जिल्ला स्थित सञ्चारकर्मीलाई जिल्लाका हरेक विकास तथा समसामयिक सवाललाई प्रमुखताका साथ उठाउन र आवश्यक सुझाव सल्लाह दिन आग्रह गरे । एकैले केही गर्न नसकिने भन्दै सबैको सहयोग र समन्वयबाट नै सफलता पाउन सकिने उनको भनाई छ । अछाम जिल्लामा भर्खरै आफु आएको र विगतमा जिल्ला प्रशाशन कार्यालय तथा प्रमुख जिल्ला अधिकारी मार्फत भएका राम्रा कामलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाए ।
जिल्लालाई शुसासन, सेवाप्रवाहमा अग्रणी, कुरीति कुसंस्कारको अन्त्य लगायतका क्षेत्रमा अगाडी बढाउनु पर्ने र यस्ता हरेक कुराहरुको मसिनो ढंगले समाधान खोज्नको लागि आवश्यक र उपयुक्त सवाल गहनताका साथ उठाउन उनको सञ्चारकर्मीलाई आग्रह छ ।
जिल्लामा रहेका छाउपडी कुप्रथा, कुसंस्कार, कुरीति नियन्त्रणका लागि सबैसँग सहकार्य गरि अघि बढ्न तयार रहेको र यसमा सञ्चारकर्मी लगायत सबैको साथको जरुरी रहेको प्रमुख जिल्ला अधिकारी मल्लको भनाई छ । कुरा भन्दा पनि काम महत्वपूर्ण भएको भन्दै त्यसप्रतिको तत्परता, लगनशीलता र सकारात्मक तवरबाट सवमस्याको समाधान गर्नुपर्ने उहाँको भनाई छ ।
जिल्लामा विभिन्न समस्या रहेका र चेतना विस्तारका लागि बढी मेहनत गर्नुपर्ने आवश्यकता आफुले महसुस गरेको भन्दै सोही अनुसार अघि बढ्ने उहाँले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले नागरिकता प्राप्तिमा विभिन्न झण्झट व्यहोर्नु परेको कुरा विगतमा उठेको भन्दै अब हरेक स्थानीय तहमा गई यसबारेमा सरोकारवालालाई एकदिने अभिमुखीकरण गरिने योजना रहेको बताए ।
कार्यक्रममा सञ्चारकर्मीले जिल्लामा विकास निर्माणका कार्यमा ढिलासुस्ती हुने गरेको, मदिराले हिंसा तथा पर्यावरण प्रदुषित भएको, हिंसा बढेका, शैक्षिक गुणस्तर कायम गर्नुपर्ने, स्वास्थ्य संस्थामा दरबन्दीको अभाव, भाडादर महंगो भएकाले नागरिकलाई सास्ती भएको लगायतका सवाल उठाएका थिए ।