Advertisement
SKIP THIS
प्रदेशले खुशी पार्न सकेन भने प्रधानमन्त्रीले खारेज गर्न सक्छन, डा.रणबहादुर रावल

टीकापुर: सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले प्रधानमन्त्रीले प्रदेशको संरचना नै खारेज गर्न सक्ने आशंका व्यक्त गरेका छन ।

टीकापुर उद्योग वाणिज्य संघले आफ्नो २१ औं वार्षिक साधारण सभाका अवसरमा प्रस्तुत गरेका माग सम्बोधन गर्ने क्रममा उनले प्रदेशको संरचना रहे मात्रै माग सम्बोधन हुनसक्ने बताए ।

‘प्रदेशले खुशी पार्न सकेन भने प्रधानमन्त्रीले खारेज गर्न सक्छन’ उनले भने–‘प्रधानमन्त्रीको अनुकम्पा रह्यो भने माग सम्बोधन गर्छु ।’

साधारण सभाका प्रमुख अतिथि समेत रहेका रावलले मुलुकको अर्थ व्यवस्था संकटमा फसेको बताएका छन । उनले कोरोनाले थला परेको अर्थ व्यवस्थालाई राजनीतिक अस्थिरताले संकटमा धकेलेको बताए ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको अर्थ व्यवस्था नराम्ररी प्रभावित हुनसक्ने अनुमान गर्न थालिएको बताए । ‘ब्यापार व्यवशाय कोरोनाले त्यसै थला परेको थियो त्यसमाथि राजनीतिक अस्थिरताले झन समस्या थप्यो’ उनले भने–‘अर्थ व्यवस्थालाई पुनः कालकोठरीमा पुर्याउने प्रयत्न भैरहेको छ ।’

यसै प्रदेशका साँसद समेत रहेका रावलले आफूले अघि सारेका धेरै योजनामा सत्तापक्षले बजेट कटौती गरेको आरोप लगाए । उनले सनकट्टीघाटको पक्की पुल, दौलतपुरको पुल, सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको प्रवेशद्वार लगायतका योजनाको बजेट काटिएको बताए ।

उनले भारतीय तीर्थयात्रीलाई टीकापुरको बाटो हुँदै कैलाश मानसरोवर पुर्याउने अभियान सार्थक गर्न सके यस क्षेत्रको मुहार फेरिने कुरामा शंका नरहेको बताए ।

तपाईको प्रतिक्रिया