अछाम : अछाम जिल्लाका १० स्थानीय तहमा पछिल्लो एक बर्षमै ३४ करोड ७२ लाखभन्दा बढी बेरुजु बढेको छ।महालेखा परीक्षकको प्रतिवेदनअनुसार पछिल्लो आर्थिक बर्ष २०८१/०८२ मै १० स्थानीय तहमा ३४ करोड ७२ लाख ५२ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ।
प्रतिवेदनमा जिल्लाका पालिकाहरूमा आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीमा सुधार आवश्यक रहेको संकेत गरिएको छ।तथ्याङ्कअनुसार सबैभन्दा बढी बेरुजु साँफेबगर नगरपालिका मा देखिएको छ।
साँफेबगरमा ८ करोड ८८ लाख ६१ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख गरिएको छ। त्यसपछि मेल्लेख गाउँपालिका मा ७ करोड ४८ लाख ९० हजार र कमलबजार नगरपालिका मा ३ करोड ८८ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ।
त्यस्तै चौरपाटी गाउँपालिका मा ३ करोड ९० लाख ११ हजार, तुर्माखाँद गाउँपालिका मा २ करोड ८१ लाख २२ हजार, रामारोशन गाउँपालिका मा २ करोड २५ लाख ५६ हजार, मंगलसेन नगरपालिका मा २ करोड २४ लाख ५६ हजार, ढकारी गाउँपालिका मा २ करोड २ लाख ३२ हजार तथा बान्नीगढी जयगढ गाउँपालिका मा १ करोड ७० लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ।
सबैभन्दा कम बेरुजु पञ्चदेवल विनायक नगरपालिका मा रहेको छ, जहाँ २४ लाख ८० हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।महालेखा प्रतिवेदनले स्थानीय तहहरूमा आर्थिक पारदर्शिता, बजेट कार्यान्वयन तथा खर्च व्यवस्थापनमा थप सुधारको आवश्यकता औँल्याएको छ।










