Advertisement
SKIP THIS
आइपिएलमा राजस्थान रोयल्सको विजयी सुरुवात

काठमाण्डौ :भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै राजस्थानले लिगमा विजयी सुरुवात गरेको हो ।

हैदराबादले भने फराकिलो हारको साथ प्रतियोगिताको सुरुवात गर्‍यो । पहिलो खेलमा राजस्थानले दिएको २ सय ११ रनको बलियो लक्ष्यका साथ जवाफी ब्याटिङमा मैदान उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि एडन मार्करमले ४१ बलमा ५ चौका र २ छक्कासहित अविजित ५७ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन् । त्यस्तै, वासिङ्टन सुन्दरले १४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४० रनको आक्रामक पारी खेले । रोमारियो सेफर्डले २४ रन जोडे । बाँकी ब्याटरले भने सम्झनालायक प्रदर्शन पनि गर्न सकेनन् ।​

राजस्थानका युजवेन्द्र चहलले तीन, ट्रेन्ट​ बोल्ट र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले उत्कृष्ट पारी खेले । उनले २७ बलमा पाँच छक्का र तीन चौकासहित ५५ रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कलले ४१, जोस बटलरले ३५, शिमरोन हेटमायरले ३२, यशस्वी जैसवालले २० र रियान परागले १२ रनको योगदान दिए ।

हैदराबादका टी नटराजन, उरमान मलिकले दुई/दुई, भुवनेश्वर कुमार र रिमोरियो सेफर्डले एक/एक विकेट लिए ।

तपाईको प्रतिक्रिया