Advertisement
SKIP THIS
ओलीले अत्य गरेको राष्ट्रिय सभाको अधिवेशन देउवाले बोलाए

काठमाण्डौ:सरकारले प्रतिनिधि सभासँगै राष्ट्रिय सभाको अधिवेशन पनि बोलाउने निर्णय गरेको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते सोमबार राती १२ बजे अधिवेशन अत्य गरिदिएका थिए।

अधिवेशन अन्त्य भएको तीन दिन नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाएको छ। राष्ट्रिय सभाको अधिवेशन अब प्रतिनिधि सभा सँगै साउन ३ गते बस्नेछ।

तत्कालीन प्रधानमन्त्री ओलीले सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला आइसकेपछि पनि अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए।

ओली सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिदिएका थिए। जबकी राष्ट्रिय सभा बैठकमा सांसदहरुले अधिवेशन लामो समय चलाउन आवाज उठाएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले असार २९ गतेका लागि बैठकको मिति तोकेको अवस्थामा प्रधानमन्त्री ओलीले अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

संघीय संसदका दुवै सदनमध्ये एउटा मात्र चल्दा कानुनहरु पास गर्न समस्या हुने गरेको छ।

एउटा सदनबाट पारित भएको कानुन अर्को सदनबाट दुई महिना भित्र पारित नभए त्यसले कानुनी हैसियत प्राप्त गर्दैन। त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सामान्यतया एउटै समयमा डाक्ने गरिन्छ।

तर अघिल्लो पटक ओलीले प्रतिनिधि सभाको अधिवेशन चलेका बेला राष्ट्रिय सभाको अधिवेशन डाकेका थिएनन्। जसका कारण पहिलो पटक विघटित भएर ब्युँतिएको प्रतिनिधि सभाले कुनै पनि कानुन पास गर्न सफल भएको थिएन।

तपाईको प्रतिक्रिया