काठमाडौं :प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।
अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो। अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन थप्न लगाएको हो।
युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो। संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ। असार ६ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।
संग्रौलासहित उनको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवहार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।










