Advertisement
SKIP THIS
२४ घण्टाभित्र न्याय सुनिश्चित गर्न बिदामा पनि सेवा: सर्वोच्च अदालत सक्रिय

काठमाडौं :सर्वोच्च अदालतले दुई दिनको सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका लागि वैकल्पिक व्यवस्था गर्न मातहतका अदालतहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतको शुक्रबारको पूर्ण बैठक(फूल कोर्ट)ले २४ घण्टाभन्दा लामो अवधि बिदा भएमा वा शनिबार र आइतबार सार्वजनिक बिदा भएमा समेत अत्यावश्यक सेवाको वैकल्पिक व्यवस्था गर्नू भनेको हो ।

सर्वोच्च अदालतले पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृति तथा हिरासतमा राख्ने अनुमतिको लागि पेश हुने मुद्दाको निकासाका लागि यस्तो व्यवस्था गर्नू भनेको हो । नेपालको संविधानको धारा २०(३) मा पक्राउ गरिएको व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने’ बाध्यकारी व्यवस्था छ । तर शनिबार र आइतबारको विदाले त्यसको कार्यान्वयन हुन नसक्ने देखिएपछि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्थाको परिपत्र गरेको हो ।

सर्वोच्च अदालतको उक्त परिपत्र देशभरका उच्च अदालतहरु र मातहतका इजलास, विशेष अदालत र सबै न्यायाधीकरणहरुले कार्यान्वयन गर्नुपर्नेछ । त्यसैगरी प्रशासकीय अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायतका विशिष्ठीकृत अदालतले पनि उक्त परिपत्रको कार्यान्वयन गर्नुपर्नेछ । सरकारले गत आइतबार निर्णय गरेको व्यवस्था अनुसार, अब सोमबारदेखि शुक्रबारसम्म विहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय हुनेछ भने शनिबार र आइतबार सार्वजनिक बिदा तोकिएको छ ।

तपाईको प्रतिक्रिया