ताप्लेजुङ:एमालेको एकल बहुमत भएको आठराई त्रिवेणी गाउँपालिकाले संघीय सरकारको निर्णय नमान्ने भएको छ ।बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय संचालन गर्ने र त्यसको बदला सातामा दुई दिन बिदा गर्ने निर्णय गरेको हो ।तर, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भने संघीय सरकारको यो निर्णय नमान्ने भएको छ । बुधबार बसेको गाउँपालिकाको ६० औं कार्यपालिका बैठकले बिहान १० बजे मात्रै कार्यालय खोल्ने र आइतबार पनि बिदा नगर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिए ।
उनले भने, ‘संघीय सरकारले गरेको यो निर्णय व्यवहारिक भएन । हाम्रोमा निगुरादिन, चाँगेदेखिको सेवाग्राही खाना खाएर आउँदा बल्ल ११/१२ बजेतिर आइपुग्छन्, कर्मचारीले पनि दुई घण्टा हिँडेर आउनुपर्छ ।’सरकारको निर्णय व्यवहारिक नदेखिएपछि बुधबार कार्यपालिका बैठकबाटै पुरानै समयमा कार्यालय संचालन गर्ने निर्णय गरिएकाे उनले बताए । पोमुले सबै जनप्रतिनिधि तथा कर्मचारीलगायतका सरोकालावाला पक्षसँग छलफल गरेर निर्णय गरिएको बताए ।
अध्यक्ष पोमुले आर्थिक वर्षको मुख्य काम गर्ने समय भएकाले पनि संघीय सरकारकाे कार्यालय समय परिवर्तनको निर्णय लागु गर्न नसकिने बताए । ‘अभ्यास गरेर हेर्दा पनि कुनै हालतले ठिक देखिएन,’ उनले भने । बुधबारसम्म भने बिहान ९ बजेनै कार्यालय संचालन गरेर हेरेको पनि उनले बताए ।
पोमुले विद्यालयमा पनि शनिबार मात्रै बिदा हुने उल्लेख गरेका छन् । ‘पाठ्यक्रम विकास केन्द्रले २२० दिनको कोर्ष डिजाइन गरेको छ । पढाइ हुने दिन भने १ सय ९० दिन मात्रै हुन्छ,’ उनले भने, ‘संघीय सरकारले अहिले गरेको निर्णय अनुसार हो भने त स्थानीयस्तरमा हुने सबै खालका बिदा र परीक्षासमेतको समय कटाएर ८६ दिनमात्रै पढाइ हुने देखिन्छ । अनि हाम्रो शिक्षा कतातिर जान्छ ? त्यसैले हामीले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सकेनौं ।’
पोमुले सरकारले निर्णय गर्दैगर्दा पनि चैत २३ मै विरोध जनाएका थिए । उनले लेखेका थिए, ‘भन्दा विरोध होला । तयारी विनाको हप्तामा दुई दिने बिदा फलदायी छैन र कार्यान्वयन कठिन छ । योबेला काम गर्ने बेला हो । कि आर्थिक वर्ष परिवर्तन गर्नुहोस् अनि शिक्षाको पनि पाठ्यक्रम परिवर्तन गर्नुहोस् नत्र कठिन छ ।पोमु नेकपा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पनि हुन् । यो गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको कार्यपालिकामा पनि एकल बहुमत रहेको छ ।









