काठमाडौँ। विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ। प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डी’आर्सी सर्टले अर्धतकीय पारी खेले। उनले ४४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए। यस्तै निरोशन डिकवेला ३० रनमा अविजित रहे।
सन्दीप जोरा २४ तथा ओपनर सुमित महर्जनले १० रन बनाए। दिलीप नाथले १२ बलमा १६ रन बनाएर आउट भए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले र सुवास भण्डारीले समान दुई तथा बसिर अहमदले विकेट लिए।
जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीले प्लेअफको सम्भावना कायमै राखेको छ। समान खेलबाट आठ अंक रहेको विराटनगरले आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउनुपर्ने भएको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
बसिर अहमद २८, साम हिजलेट २७ रनमा आउट हुँदा फाफ डु प्लेसिसले १२ रनको योगदान दिए।









