Advertisement
SKIP THIS
आलुको बिउँ उत्पादनका लागि अछाम आत्मनिर्भरको बाटोमा

गिता कुँवर अछाम : अछामका ३ पालिकामा आलुको बिउ भण्डारका लागि रस्टिक स्टोर निर्माण गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिका-५ रामारोशन,६ भटाकाटिया,७ सुतार, बान्नीगढी जयगढ गाउँपालिका-३ छातासैन र मेल्लेख गाउँपालिका-१ क्रषिदह, ६ षोडशामा रस्टिक स्टोर निर्माण गरिएको हो। 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई मंगलसेनको एक करोड २० लाखको लागतमा रस्टिक स्टोर निर्माण गरिएको परियोजना प्रमुख युवराज विकले जानकारी दिए। विशेष गरी आलुको बिउमा आत्मनिर्भर र बाहिरको बिउलाई पूर्णरुपमा रोक लगाउने लक्ष्यका साथ रस्टिक निर्माण गरिएको विकले बताए। 

आलुको बिउमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रयोग र हावापानी सुहाउने खालको सानो घर निर्माण गरिएको हुन्छ। जसलाई रस्टिक स्टोर भनिन्छ। जसमा आलुको बिउ भण्डारण गर्नका लागि साना साना र्‍याकहरू बनाइएको प्राविधिक पूर्णबहादुर ढुंगानाले बताए। 

रस्टिक स्टोर निर्माणपछि व्यावसायिक रुपमा आलु खेतीमा लागेका कृषकहरूलाई निकै सहज भएको रामारोशन दल्लेनाका कृषक जंगबहादुर बटालाले बताए। उनले आलु लगाउने सिजनमा आलुको बिउ खरिद गर्दा महंगो पर्ने बाहिरबाट ल्याउनुपर्ने वाध्यताको अन्त्य भएको बताए। 

दल्लेनाका २७ घरधुरीले रस्टिक स्टोरमा आलुको बिउ उत्पादन गर्ने र बिक्री गर्दै आइरहेका बटालाले बताए। बान्नीगढी जयगढ गाउँपालिका-३ छातासैनका कृषक पूर्णबहादुर ठकुल्लाले करिब २ लाख जतिको आलुको बिउ बिक्री गरेको बताए। 

ठकुल्लाले बर्सेनि ७० देखि ८० क्विन्टल आलु उत्पादन गर्दै आइरहेका छन्। उनले बिउका लागि राखेको आलु कुहिने र बाहिर जिल्लाबाट ल्याउनुपर्ने अवस्था अब नरहेको भन्दै खुशी व्यक्त गरे। 

स्थानीय तहलाई बढी उत्पादन गर्ने कृषकहरूको कृषि उपजहरू कृषकको घरमै खरिद गर्न सुझाब दिएको जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले बताए। उनले कृषक आफैले बजारसम्म पुर्‍याउन बढी मूल्य पर्ने भएकाले स्थानीय सरकारले किसानको खेतबारीमै खरिदको व्यवस्था मिलाउनुपर्ने र कृषकहरूले पनि प्रशस्त मात्रामा उत्पादनमा जोड दिनुपर्ने बताए। समन्वय प्रमुख कुँवरले पालिकाहरूको वार्षिक समीक्षामा आफूले पटकपटक यही कुरा राख्दै आएको बताए। 

तपाईको प्रतिक्रिया