Advertisement
SKIP THIS
भत्किदै सत्ता गठबन्धन, नयाँ गठबन्धन बन्दै

काठमाडौँ :कांग्रेस नेतृत्वको सत्ता गठबन्धनभित्रको खटपटले नयाँ राजनीतिक समीकरण बन्ने भएको छ । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नबन्दा नयाँ समीकरणको गृहकार्यमा राजनीतिक दलहरू लागेका हुन् । 

विकसित घटनाक्रमसँगै राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ भने नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ । 

माओवादी बैठक बालुवाटारमा र एमाले बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ । बालकोट र बालुवाटारका दुवै बैठकमा शीर्ष नेताहरूले विकसित राजनीतिक घटनाक्रम र सम्भावित समीकरणबारे नेताहरूलाई जानकारी गराउनेछन् । स्रोतका अनुसार कांग्रेससँगको गठबन्धन टुट्ने लगभग निश्चित भएपछि एमाले, माओवादी, रास्वपा र जसपा लगायतको नयाँ समीकरण बनाउन नेताहरू सहमति नजिक पुगेका छन् ।  

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सोमबार बिहान बसेको छ । सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएका छन् । साथै बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । 

पछिल्लो घटनाक्रमबारे छलफल गर्न जसपाले पनि बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बोलाएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

‘गठबन्धन अब खटबन्धन भयो’, अध्यक्ष यादवले रातोपाटीसँग भने, ‘विकसित राजनीतिक घटनाक्रम र नयाँ समीकरणबारे छलफल जारी छ ।’

हिजो साँझ र बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको छलफलबारे समेत कुराकानी भएको नेताहरूले बताएका छन् । 

यता सत्ता गठबन्धनले आठ बजे बोलाएको बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोमबार बिहानै बालुवाटार पुगेका छन् । यसअघि आइतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बोलाएर राजनीतिक घटनाक्रम बदलिन सक्ने सङ्केत गरेका थिए ।रातोपाटिबाट

तपाईको प्रतिक्रिया