Advertisement
SKIP THIS
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

काठमाडौँ:प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने भएका छन् । रास्वपा स्रोतका महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले म‌गलबारनै डा वाग्लेलाई उपसभापतिमा मनोनित गर्नेछ । सांसद तथा केन्द्रीय सदस्यको भुमिकामा मधेश झरेका डा वाग्ले उपसभापति बनेर काठमाडौँ फर्किने छन् । सांसद वाग्ले रास्वपाका अर्थ विभाग प्रमुख समेत हुन् ।

वैशाखमा नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको डा वाग्ले, तनहुँ १ मा भएको उपनिर्वाचनमा ३४ हजार ९ सय १९ मत सहित विजय भएका थिए । उनले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पारेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका वाग्ले विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।

रास्वपाका स्रोतका अनुसार सांसद निर्वाचित भएपछि पार्टी भित्रको भूमिकाका विषयमा उनले दबाब बढाएका थिए । रास्वपाको विधानमा दुई उपसभापतिको व्यवस्था भए अनुसार नै उनलाई उपसभापतिमा ल्याउने तयारी भएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए ।

रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल (डिपी) मात्रै उपसभापति छन् । स्वर्णिमको विज्ञता र अन्तराष्ट्रिय सम्बन्धका हिसाबले पनि उनी उपसभापतिका लागि योग्य रहेको पार्टीका नेताहरूको बुझाई छ ।

विसं २०३१ सालमा गोरखामा जन्मिएको वाग्ले २०४६ सालको एसएलसीमा नेपालभरिकै विद्यार्थीमध्ये दोस्रो स्थानमा आएका थिए ।

त्यस्तै विश्वका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले नेपाल फर्किनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका थिए । २०७७ देखि २०७९ सम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।

तपाईको प्रतिक्रिया