Advertisement
SKIP THIS
दैलेखमा पेट्रोलियम उत्खननकाे अन्तिम अन्वेषणको कार्य सुरु

दैलेख:देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननकाे अन्तिम अन्वेषणको कार्य सुरु हुने भएको छ । अन्तिम ड्रिलिङका लागि आवश्यक पर्ने ४५ रोपनी जग्गाको विवाद मिलेपछि अन्वेषणको काम सुरु हुने भएको हो । दैलेखको भैरवी गाउँपालिका– १ खोली बजारका स्थानीय जग्गा दिन तयार भएसँगै अन्वेषणको काम सुरु गर्ने तयारी थालिएको हो । 

४५ रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने विषयमा केही समय विवाद भएको थियो । कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा जग्गाधनी, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएपछि अन्य प्राविधिक कामहरू तत्कालै सुरु गरिने भएको छ । 

दैलेखको भैरवीमा ४.५ किलोमिटर जमिनमुनि ड्रिलिङ गरिने भएको छ । कात्तिक तेस्रो साताबाट ड्रिलिङको काम सुरु गर्ने गरी तयारी थालिएको पेट्रोलियम अन्वेषण परियोजनाका दिनेशकुमार नापितले बताए। 

चीनको टोलीले गरेका अन्य अन्वेषणहरूबाट दैलेखकै भूभागमा पेट्रोल र ग्यासको भण्डारण हुन सक्ने निकै धेरै सम्भावना देखिएकोले अन्तिम अन्वेषणको नजिता सकारात्मक आउनेमा आशावादी रहेको नापितको भनाइ छ । 

दैलेखकै भूभागमा पेट्रोल र ग्यासको भण्डारण भएको भन्दै ०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भएका छन् । अब गरिने सर्भेले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर पत्ता लाग्नेछ ।

तपाईको प्रतिक्रिया