Advertisement
SKIP THIS
कोशीमा शेखर समुहका केदार कार्कीलाई एमालेको सहयोग, गरे मुख्यमन्त्रीमा दाबि

काठमाडौं:कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेले नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ।

कार्कीले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्।

एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ। कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरूले कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गरेको सेतोपाटीलाई बताए।

‘हामीले ३९ जना सांसदको हस्ताक्षर केदार कार्कीको समर्थनमा बुझाइसकेका छौं,’ उनले भने, ‘हामीले सहमतिको प्रस्ताव ल्याउन माओवादीलाई पनि भनेका थियौं, माओवादी आएन। मध्यावधिमा नजाओस् भनेर हामीले कांग्रेसका कार्कीलाई सहयोग गरेका हौं।’

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दल नेता इन्द्र आङ्बोले पनि आजै मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनलाई केन्द्रमा सरकार बनाएको सत्ता गठबन्धन दलहरूको समर्थन छ। तर कांग्रेस नेता शेखर कोइराला पक्षका कोशीका सांसदहरू भने आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा छैनन्। 

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। 

तपाईको प्रतिक्रिया