Advertisement
SKIP THIS
तीजको प्राचीनता देखि आधुनिकता सम्म

रामचन्द्र जोशी चौरपाटी गा पा -५ अछाम :हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल पक्षको तृतिया तिथिमा पर्दछ । नारीहरुको एक मात्र महान पर्व हरितालिका तीज हो । यो चाड निर्जला व्रत उपासना गरी श्रद्धा र भक्तिपूर्वक भगवान भोलेनाथको पूजाअर्चना गरि मनाइन्छ । सत्य युगमा हिमालय पर्वत र माता मेनकाका गर्भबाट उत्पन्न भएकी पार्वतीको विवाह भगवान विष्णुसँग गरी दिन लाग्दा साथीको सल्लाहमा भागेर वनमा लुक्न पुगिन । सानै उमेर देखि महादेवलाई पति पाउनका लागि मानसिक रुपमा तयारी रहेकी माता पार्वती पछि भगवान विष्णुको सल्लाहमा भाद्र शुक्ल तृतियाका दिन एकाग्रतापूर्वक दृढ इच्छा शक्ति सहित एक चित्तका साथ भावभक्तिपूर्वक ब्रतारम्भ गरीमहादेव पति पाउन सफल भईन ।भगवान श्री हरिको आज्ञा अनुसार विधिपूर्वक ब्रतारम्भ गरिएको हुनाले यसलाई हरितालिका तिज भन्न थालिएको हो । तत् समय देखि महिलाहरुले आफ्नो इच्छित बर पाउन , दाम्पत्य जीवन सफलीभूत बनाउन र पतिको सुख,सम्वृद्धि,आरोग्यता र दिर्घायुको कामनाका साथ हरितालिका तीजको ब्रत बस्न प्रारम्भ भएको मानिन्छ ।

तीजको दिनमा दिनभर निराहार र निर्जला व्रत बसिने भएकाले अघिल्लो राति दर खाने चलन छ । तृतीयाको दिनमा सबेरै नदी तट तथा जलाशयमा विधिपूर्वक स्नान गरी शारीरिक र मानसिक रुपले पवित्र भई शुद्ध मनले व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । तर निर्जल एवं निराहार व्रत उपासना गर्नु स्वास्थ्य विज्ञानका दृष्टिले त्यति सान्दर्भिक होइन । ब्रतको मौलिक पक्षलाई आत्मसात गरी स्वास्थ्यको पक्षलाई पनि महत्व दिन जरुरी छ । विवाहित तथा अविवाहित नारीहरु शिवालयमा जम्मा भएर बर्ष भरीका सुख दुःखका क्षणहरुलाई गीत मार्फत व्यक्त गर्दै साथीसंगीहरु दिनभरि नाचगान गरेर रमाइलो गर्छन् । महिलाहरू नवीन वस्त्र,गहना तथा श्रृंगारमा सजिएका हुन्छन् । निराहार व्रत बसेका महिलाहरू सायंकालमा वैदिक विधिपूर्वक भगवान् शिवको पूजा आरधना गरी अर्को बिहान ब्राह्मण वचन बाट फलाहार तथा सात्विक भोजन ग्रहण गर्छन् । तीजको दोस्रो दिन भाद्र शुक्ल चतुर्थीको दिन विघ्नहर्ता भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओसर आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् ।

पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका दोषको निवारण गर्न अरुन्धतीसहित सप्त ऋषिहरूको पूजा गर्छन् । प्रातकालिन समयमा महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई अपमार्गीका ३६५ दत्तिउनले दन्तमञ्जन गरेर जौ, तिल र चामल सहित तामाको चाल्नीमा राखेर नुहाउने चलन रहदै आएको छ ।मन,वचन र कर्मद्वारा दाम्पत्य जीवनलाई सुखी र खुशी बनाउन दम्पतिहरु बीच आपसी समझदारी र सदभाव आवश्यकता पर्दछ । यो पर्वले शारीरिक,मानसिक र आत्मिक रुपमा दम्पतिहरुको सम्बन्धलाई सुमधुर बनाउन पनि उतिकै महत्वपूर्ण भूमिका रहन्छ । ब्रत उपासनाले शारीरिक शुद्धता र पवित्रताका साथसाथै मानसिक शान्ति पनि मिल्छ । धार्मिक कार्यहरुले मानिसमा आध्यात्मिक भावनाको विकास गरीधर्म सँस्कृतिको जगेर्नामा समेत टेवा पुग्दछ ।
वर्तमानमा तीजलाई महिला दिदीबहिनीहरुले धार्मिक गतिविधिको प्रवर्धन,आपसी सदभाव,सामुहिक भावनाको विकासर लैङ्गिक समानतासँग जोड्न थालेका छन । नारी पक्षिय यस्ता दिवस,पर्व र उत्सवहरुले महिलाको उत्थान,विकास र शसक्तिकरणमा सहयोग पुगेको छ । तीज बिशेषमा शहर,बजार,गाउँघर,मेलापातमा घन्किने तिज गीतहरुको माधुर्यताले बालक देखि बृद्धहरु सम्म सबैलाई मनोरञ्जन दिनुका साथै सांगितिक माध्यम बाट समाज रुपान्तरण गर्न पनि सहयोग गर्दछ । नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू रचना गरी महिनौ देखि शहर बजारका गल्ली तथा ग्रामीण भेगका कुना कन्दरा सम्म तीज गीत मार्फत सामाजिक सचेतनामा समेत सहयोग पुग्दै आएको छ ।परम्परागत रुपमा छोरीचेलीको गीतमा वेदनाका आवाज गुञ्जिन्थे भने वर्तमानमा समाज परिवर्तनका गाथाहरु घन्किन थालेका छन । समयको परिवर्तन सँगै तीज गीतमा पनि आधुनिकताले प्रवेश पाउन थालेका छ । तीजको मौलिकतालाई तोडमोड गरी अनेकन प्रकारका समाजलाई अपाच्य हुने खालका गीत संगीतलाई प्रश्रय दिन थालेकाले समाज र सँस्कृतिको धरोहरको रुपमा रहेको तिजकोमौलिक परम्परालाई जोगाइ समाज परिवर्तन गर्नु आजको आवश्यकता हो ।
आधुनिकता सँगै तीजको स्वरुपमा परिवर्तन आएको छ । तीजलाई श्रद्धा र भक्ति भन्दा पनि मनोरञ्जन र फेसनको पर्वको रुपमा लिदै गरेको पाईन्छ । विगतमा केही समुदाय र वर्गमा तीज मनाउने चलन थियो । केही वर्ग र समूहले मात्र तीजलाई धार्मिक विधि-विधानपूर्वक मनाउने गरेको देखिन्थ्यो । वर्तमानमा सबै समुदाय,वर्ग र जातका मानिसले तीज पर्वलाई धुमधामका साथ मनाउने गर्दछन । सबै जात,वर्ग र समुदाय बिशेषको सहभागिता हुनु पहुँच र समानताका दृष्टिले महत्वपूर्ण पक्ष हो । तथापि चाडपर्वको मौलिकतालाई भने बिर्सनु हुदैन ।

वर्तमानमा युवा पुस्ताले तीजलाई गरगहना र पोशाक प्रदर्शनको पर्वको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । तिजको अवसरमा खाइने खानपान,लगाइने लुगा,गाइने गीत र धार्मिक विधिपूर्वक गरिने पूजार्चनामा व्यापक परिवर्तन आएको देखिन्छ । महिनौ अगाडी देखि तीज मनाउने नाममा अनावश्यक तडकभडक गरगहना तथा लुगा प्रदर्शन गर्ने क्रम दिनानुदिन बढ्दै छ । दर खाने नाममा शहर बजार तिर ठुला होटलमा पाटी आयोजना गर्ने शास्त्रीय तथा धार्मिक रुपमा बर्जित गरेका तामसी भोजनहरु गर्ने चलन दिनहुँ बढ्दै । हिन्दु नारीहरुको धरोहरको रुपमा रहेको तीज पर्वमा मौलिकताको साटो देखासिकी तर्फ युवायुवतीहरुको आकर्षण बढ्दै गएको देखिन्छ ।

यस्ता गतिविधिहरुले न त तीज पर्वको मौलिकता नै बच्छ न त गृह लक्ष्मीको रुपमा पूजनीय नारीकोसम्मान नै बढ्छ । धर्म संस्कृति भित्रका कुरिती,कुसंस्कारलाई परिष्कृत गर्दै आधुनिक समाजमा सभ्य र भव्यपूर्वक मौलिकतामा आँच नआउने गरी चाडपर्व मनाउनु समयको माग हो । मौलिक चाडपर्वहरु देशको पहिचान र आभुषण भएकाले यिनीहरुको संरक्षण र सम्वर्धन गर्नु समाजको पहिलो कर्तव्य हो ।धार्मिक, सामाजिक सांस्कृतिक तथा वैज्ञानिक महत्त्व भएका नेपाली मौलिक पर्वहरूको महत्व बुझेर सभ्य,भव्य एवं समुन्नत तरिकाले चाडपर्व मनाउनुका साथै परिष्कृत समाज निर्माण गर्नु वर्तमान पिढीको जिम्मेवारी हो ।
लेखकःचौरपाटी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत छन ।

तपाईको प्रतिक्रिया