Advertisement
SKIP THIS
श्रीकृष्णको बहुआयामिक व्यक्तित्व

रामचन्द्र जोशी चौरपाटी गा पा -५ लुंग्रा अछाम

यदा यदा हि धर्मस्य ग्लानीर्भवती भारतः। अभ्युथानम्मधर्मस्य तदात्मानम् सृजाम्यहम् ।।
परित्राणाय साधुनाम् विनासाय चदुस्कृताम । धर्मसंस्थापनार्थाय सम्भवामी युगेयगे ।।

समय सर्वशक्तिमान छ । समयको आधिनता सबैले स्वीकार्नु पर्दछ । पृथ्वीमा समयको चक्र सँगै विभिन्न काल खण्ड र युगहरुमा प्राकृतिक,आध्यात्मिक र दैविय परिघटनाहरु व्यतित भई रहेका हुन्छन । जीवहरुको आश्रय स्थल यो धराधामलाई प्राकृतिक रुपमा सन्तुलन कायम गर्नका लागि सृष्टि,स्थिति र संहार जस्ता परिघटनाहरु निरन्तर रुपमा सदियौं देखि चल्दै आइरहेका छन । हाम्रा पौराणिक ग्रन्थहरुमा वर्णित कथाहरुका आधारमा अनादिकाल देखि पृथ्वीमा विभिन्न काल खण्डमा सृष्टि र संहार चल्दै आएका देखिन्छ । ब्रह्माजी द्वारा रचित ब्रह्माण्डमा सहस्र प्रकारका प्राणीहरुको रचना गरिएको थियो । विविध स्वभाव एवं प्रकारका प्राणीहरुको व्यवहार,खानपान,जीवन शैली पनि विविध प्रकारको थियो । समयको निरन्तर चक्र सँगै पृथ्वीमा विभिन्न समयमा अहंकार,अन्याय,अत्याचार,दुराचार,दुष्कर्म,सत्ताको चरम दुरुपयोग, अधार्मिक कार्यको बाहुल्यता भई सदाचार,सदगुण,सदव्यवहार जस्ता मानवीय गुणहरुमा कमी आइ व्यभिचारीहरुको बाहुल्यता भई सनातन धर्मको नाश हुने समयमा भगवान श्री हरि विष्णु आवश्यकता अनुसार यो धराधाममा विभिन्न स्वरुपमा अवतरण गर्नु हुन्छ । भगवान विष्णुका २४ अवतारहरु मध्ये मुख्य १० अवतारहरु छन । जुन मानवकल्याण,लोककल्याण,जनहित र धर्म स्थापनामा केन्द्रित छन । सृष्टि प्रलय भई पृथ्वी जलमय भएको बेलामा मत्स्य अवतार धारण गरी सप्तऋषि,अन्न,बिऊबिजन,कामधेनु गाई लगायतको रक्षा गर्नुभयो ।जसले गर्दा सृष्टिलाई पुनः सञ्चालन गर्न सहजता भयो । मन्दराचल पर्वतलाई थेग्न कुर्म (कछुवा) अवतार धारण गरी समुद्र मन्थनमा सहयोग गर्नु भयो । समुद्र मन्थन बाट निस्केको अमृतलाई मोहिनी रुप धारण गरि अन्यायी,अत्यचारी र व्यभिचारी दानवहरुलाई छली देवताहरुलाई अमृत पान गराउनु भयो ।पृथ्वीको अपहरण गरी लुकाउन खोज्दा वराह अवतार धारण गरी अभिमानी दानव हिरण्याक्षको बध गर्नु भयो । हिरण्यकश्यपु जस्तो अभिमानी,अहंकारी, व्यभिचारी दानवको संहार गरी स्वयं हिरण्यकश्यपु पुत्र प्रह्लाद र समग्र मानव जातीको रक्षा गर्न नृसिंह अवतार धारण गर्नु पर्यो । देवलोक सहित तीन लोकको राजा हुनका लागि अश्वमेध यज्ञ गर्न लागेका बली राजा जस्तो दानी व्यक्तिको अहमता नाश गरी सदाचार कायम गर्न बामन रुप धारण गर्नु पर्यो । गौ हत्या,ब्राह्मणहत्या,ऋषि हत्या गर्ने सहश्रबाहु जस्ता अधर्मी,अज्ञानी , अहंकारीको संहार गरि २१ पटक सम्म पृथ्वीबाट क्षेत्री रहित बनाउन जमदग्नि ऋषि पुत्रको रुपमा पर्शुराम स्वरुप धारण गर्नु पर्यो । त्रेता युगमा रावण,कुम्भकर्ण जस्ता दुराचारीहरुको नाश गरी लोक कल्याणकारी कार्यहरु द्वारा मर्यादा कायम गर्न पुरुषोत्तम राम अवतार धारण गर्नु भयो । द्वापरको अन्तिममा कंश,जरासन्ध,भौमासुर,काल यवन,नरकासुर लगायत दुराचारी राक्षसहरुको संहार तथा दुर्योधन,दुस्सासन, शिशुपाल,जयद्रथ जस्ता अधर्मी र अहंकारीहरुको सर्वनाश गरी धर्मको रक्षाका लागि विराट स्वरुप श्रीकृष्णावतार धारण गर्नु पर्यो । पृथ्वीमा शान्ति,अहिंसा कायम गर्न काम क्रोध,लोभ,मोह जस्ता दुर्गुण त्यागी सदाचारको पालन गर्न बुद्धावतार धारण गरी दिव्य ज्ञान बाड्नु भयो । कलियुगको अन्त्यमा दुराआत्मार पापीहरुको संहार गरी पृथ्वीको भूभार हरण गर्न कल्कि अवतारण धारण गर्ने कुरा विभिन्न धर्मशास्त्रहरुमा वर्णन गरिएको छ ।
श्री कृष्ण जीवन चरित्रको बारेमा अध्ययन गर्ने हो भने उनलाई एक बहुआयामिक,बहुप्रतिभाशाली,कुशल व्वस्थापक,संगठक,सदाचारी,पालनकर्ता,तारणहार,सर्वज्ञाता,दुष्टहरुको संहारकर्ता,सच्चा गुरु,सच्चा प्रेमी, दयावान र क्षमाशिलका प्रतिमूर्तिका रुपमा लिन सकिन्छ । त्रिलोकमा अविनाशी अमर नाम श्रीकृष्ण हो । सतही किसिमले भगवान श्रीकृष्णलाई सबैले चिन्दछन तर वास्तविक रुपमा थोरैले मात्र श्री हरिलाई चिनेका छन ।

श्रीकृष्ण जन्म

द्वापरको अन्त्य तिर पृथ्वीमा दुराचारी,व्यभिचारी र अहंकारीहरुको बाहुल्यता भई सनातन धर्म माथि निरन्तर हमला गरी धर्मको नष्ट गर्ने कार्यमा दानवहरु अग्रसर थिए । कंश,भौमासुर,जरासन्ध लगायत राक्षसहरुले दिनानुदिन उपद्रव मच्चाइरहेका थिए । सर्वसाधारण नरनारीहरुले दुःख पाइरहेका थिए । शासन गर्ने शासकहरु बाटै जनताहरु असुरक्षित थिए । समाजमा आतंक,दुर्व्यवहार,लुटपाट जस्ता आपराधिक कार्य गर्नमा तत्कालिन शासकहरु रमाइरहेका थिए । जो रक्षक थिए ती सबै भक्षक भईसकेका थिए । यस्ता अमानवीय,निन्दनीय कार्यहरुले पृथ्वीमा पाप तथा अधर्मको भार दिनानुदिन बढिरहेको थियो । अधर्मको नाश गरी पृथ्वीको भूभार हरण गर्न भगवान श्रीहरिले पृथ्वीमा साधारण मानव रुपमा जन्म लिने उद्घोष गर्नु भयो । आधुनिक भारतको उत्तर प्रदेश मथुरामा ततकालिन समयमा राजा उग्रसेनको राज्य थियो । उनी कुशल शासक,प्रजापालक र न्यायप्रेमी राजा थिए । उनको एक उद्दण्ड,अभिमानी, अहंकारि, दुराचारि छोरा कंश थियो । केही साथीहरुको सल्लाहमा सैनिकहरुलाई हातमा लिएर पिता उग्रसेनलाई कालकोठरीमा जाकेर स्वयं आफुलाई मथुराको राजा घोषणा गरी सर्व सत्ता हातमा लिएर शासन गर्न थाल्यो । त्यसै राज्यमा बसुदेव नाम गरेका यदुवंशी कंशको साथी थिए । कंश आफ्नी बहिनी देवकीको विवाह बसुदेव सँग गराउन चाहन्थ्यो । उनको चाहना अनुसार बसुदेव र देवकीको विवाह धुमधाम सँग सम्पन भयो । विवाह पश्चात प्यारी बहिनी देवकीलाई पोइली घर सम्म आफै छोड्न तयार भयो ।

बाटोमा जाने क्रममा बसुदेव र देवकीको अष्टम गर्भ बाट उत्पन्न हुने सन्तान बाट कंशको वध हुने आकाश वाणी बाट झस्किएर म्यानमा रहेको तरवार निकाली तत्काल बसुदेवको प्राण लिन तम्सियो । देवकीले अलाप,बिलाप गरि पतिको प्राण रक्षाका लागि झोली फैलाएर भिक माग्न थालिन र आफ्नो गर्भबाट उत्पन्न हुने सबै सन्तानलाई जन्मना साथ कंशलाई सुम्पिने सुनिश्चिता गरिन । बहिनी देवकीको क्रन्दन पछि ज्वाइ एवं परम मित्र बसुदेवलाई प्राण दान दिएर दुवै जनालाई फलामको बेणियाले बाधेर सयौ घेरा भित्र हजारौ पहरेदार सैनिकहरुको बीचमा रहेको कालकोठरी भित्र राख्न लगायो । समय व्यतित भए सँगै देवकी गर्भिणी भईन । पहिलो सन्तानको रुपमा पुत्र जन्मियो । पहरेदार सैनिकहरुले राजा कंशलाई खबर गरे । उन्माद मुद्रामा रहेको कंशले बहिनीको कोख बाट अबोध बालकलाई खोस्दै भित्तामा बजारेर निर्दोष बालकको ज्यान लियो । वात्सल्यमयी भावनामा डुबेको देवकी पहिलो सन्तानलाई राम्रो सँग देख्न नपाउदै पुत्र वियोगमा अनेक तरहले क्रन्दन सहित बिलाप गर्न लागिन । तर पापिष्ट कंशको मन पलाएन । देवकीका थप पाँच वटा सन्तानहरु यसै गरी मारिदै गए । सातौं पटक गर्भवती भएका बेला बसुदेवकी पहिलो पत्नी रोहिणी जेलमा भेट्न आउछिन र सातौं गर्भलाई बिशेष शक्ति द्वारा रोहिणीको गर्भमा स्थानान्तरण गरेर गोकुल नन्द गाउँ जान्छिन । पूर्णमास पश्चात रोहिणीको गर्भबाट हल रुपधारी बलरामको जन्म भयो । आठौं पटक गर्भवती भएको जानकारी पाएको राजा कंशले सुरक्षा घेरा बढाउदै थप सुरक्षा र सतर्कता बढाउदै गयो । गर्भको समय पूर्ण भई भाद्र कृष्णाष्टमीका दिन मध्यरात १२ बजेको समयमा श्रीकृष्णको जन्म भयो । कालकोठरीमा रहेको कालो रात प्रकाशमय भयो । जाज्वल्यमान प्रकाशका कारण योगमायाले कंशका हजारौ पहरेदार सैनिक चीर निद्रामा परे । देवकी र बसुदेवलाई बाधेर राखेका फलामका सिक्रीहरु आफसेआफ खुले । सयौ फलामका गेटहरु स्वतः खुला भए । बसुदेवले हतार गर्दै कोठरीमा रहेको डालीमा नवजात शिशुलाई राखेर गोकुल वासी नन्दराय जी को घरमा लिन तयार भए । भाद्र महिना कृष्ण पक्षको मध्यरात निकै नै अँध्यारो र चकमन्न थियो साथै ठूलो घनघोर बर्षा भएको थियो । भगवान श्री हरिको कृपाले बाटो प्रकाशमय बन्दै गयो । बसुदेव यमुना नदी तर्न लागे । बर्षातको समयमा यमुना नदी उर्लेर आएकी थिइन ।

टाउकोमा नवजात शिशु युक्त डालीलाई राखेर बिस्तारै नदी तिर लागे । बीच भागमा पुग्नै लाग्दा बसुदेवको शिर सम्म पानी पुगेर डुब्ने अवस्थामा पुगे । जब शिशुको पाउ नदी सँग स्पर्श भयो तब यमुनाले बाटो दिइन र बसुदेव सकुशल नन्दबाबाको घरमा पुगे । उता यशोदा मैया पनि गर्भवती थिइन । त्यसै रात उनले पनी एक कन्यालाई जन्म दिएर यशोदा अचेत अवस्थामा थिइन । नन्दबाबा र बसुदेवको सल्लाह अनुसार कृष्ण स्वरुप शिशुलाई यशोदाको काखमा सुताएर योगमाया स्वरुप ती शिशु कन्यालाई लिएर बसुदेव मथुरा नगरी तर्फ लागे । जब बसुदेव कालकोठरीमा पुगे तब सबै ढोकाहरु पहिलेकै अवस्थामा आफै बन्द भए । चिर निद्रामा रहेका पहरेदार सैनिकहरु बिउझिए । फलामका बेडियाहरु स्वतः बाँधिए । यी सबै घटनाक्रमहरु कसैले पनि पत्तो समेत पाएनन् । पहरेदारहरुले देवकीले अष्टम गर्भ बाट पुत्री पाएको जानकारी कंश समक्ष पुर्याए । देवकीको अष्टम सन्तानको प्रतिक्षामा रहेको कंश आन्तरिक रुपमा डर,त्रासले काप्दै शारीरिक रुपमा कोलाहल मच्चाउदै कालकोठरीमा आइपुग्यो र देवकीको कोख बाट शिशुलाई खोस्दै पछार्न लाग्दा शिशु आकाशमा उडेर गयो र योगमायाको स्वरुप धारण गरी तिमीलाई मार्नेवाला तारणहारको जन्म भई सकेको भन्ने जानकारी दियो । यो कुरा सुनेर कंश रिसले उन्माद हुदै झन गर्जिन थाल्यो । त्यो राती जन्मेका सबै शिशुहरुलाई मार्न आदेश दियो । आज्ञापालक सैनिकहरु बालकहरु खोज्दै मार्दै गए । गोकुलमा नन्दराय जी को घरमा पनि भाद्र कृष्ण अष्टमीका दिन बालकको जन्म भएको र त्यस बालकलाई हाल सम्म पनि मार्न नसकेको जानकारी कंशलाई दिए । पुतना राक्षसीलाई बोलाएर कंशले नन्दराय जी को बच्चालाई मार्न आज्ञा दिए । पुतनाले सुन्दरीको रुप धारण गरी घरमा कोही नभएको अवस्थामा नन्दलालको घरमा प्रवेश गरी सुताएर राखेको बालकलाई लिएर वन तिर लागिन र आफ्नो वास्तविक राक्षसी विशाल काया ग्रहण गरी हलाहल रुपी विषाक्त दुध पिलाएर बालकलाई मार्न खोजिन तर नवजात शैशवास्थामा रहेका श्रीहरिले पुतनाको पुरै शरीर चुसेर स्वयंलाई मारिदिए । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मिसकेपछि पनि निरन्तर असुरक्षित छ भने उसको जीवनका संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिंदैन ।यसरी भगवान कृष्णको जन्म विषम परिस्थितिमा भएको थियो ।

लिलाधारी श्रीकृष्ण
बिषम परिस्थितमा जन्मेका भगवान श्री कृष्ण गोकुलमा हुर्कदै गर्दा मथुरा बाट कंशले पठाएका अनेकौ असुरहरुले गोकुलमा ज्यादति गर्न लागे । गोकुलबासीका गाईगोरु मार्ने,घरहरु जलाउने,पिट्ने अनेक बहानामा दण्ड दिन लागे । कंशको अत्याचार सहन नसकी गोकुल वासी बृजमा आएर बस्न थाले । गोकुलका मुखिया नन्दबाबाको नाम बाट नामाकरण गरी नन्द गाउँ बसाएर आफ्नो पेशा व्यवसायलाई निरन्तरता दिन थाले । माता यशोदाले बहुत सप्रेमका साथ पूर्ण रुपमा वात्सल्यमयी वातावरणमा बालकृष्णलाई हुर्काइन । कृष्ण,काना,कन्हैया,वंशीधर,मुरलीधर,ग्वालगोपाल,दहीचोर,मखनचोर अनेकन नामका साथ बालकृष्णले ग्वालबालहरु सँग रमाउदै,खेल्दै, वंशी बजाउदै बृजवासीहरुलाई मोहित पार्दै बाल्यकाललाई पूर्ण रुपमा स्वतन्त्र तरिकाले बिताए । वर्तमानमा बाल अधिकारका बिषयमा निकै चर्चा हुने गर्दछ । कृष्णले त्यो समयमा नै बाल अधिकार र बाल स्वतन्त्रताका बिषयमा आवाज उठाए । बृजमा उत्पादन हुने दुध, दही, मखन,फलफुल आदिमा पहिलो अधिकार बालबालिकाको हुने र त्यस पछि मात्र बेचबिखन गर्नुपर्ने कुरामा जोड दिदै मथुरामा गोरस आदि बस्तुहरु बेच्नमा रोक लगाए । गोकुल वासीलाई यति सम्म मोहित पारेकी श्रीकृष्ण एकक्षण पनि गोकुलमा नहुदा गोकुल वासी अनाथ असहाय जस्तै हुन्थे । बाल लिला,गोबर्धन लिला ,रासलिला जस्ता अनेकन चरित्र धारण गरेर भगवान कृष्णले पूर्ण रुपमा स्वतन्त्र तरिकाले आफ्नो बाल्यकाल व्यतित गरे ।
पराक्रमी श्रीकृष्ण
भगवान श्रीकृष्णको जन्म एक अलौकिक घटना हो । उनी बाल्यकाल देखि नै निकै पराक्रमी थिए । आफ्नो पराक्रमलाई समाजमा शान्ति,अमनचयनर धर्म स्थापना गर्नदुराचारी,अहंकारीहरुको सर्वनाश गरि सदाचारी समाज निर्माणमा सदैब प्रयत्नशिल रहेको पाइन्छ । उनका अभुतपूर्व चामत्कारिक कार्यहरुले स्वयं स्वर्गका देवताहरु पनि अचम्मित हुन्थे । एकपटकको कुरा हो कृष्णको उपद्रव उट्पट्याङ कार्यले निकै आजित भएकी यशोदा मैया उनलाई काठको ओखलमा बाध्न चाहन्छिन । तर उनलाई पटकपटक बाध्न खोज्दा जति लामो डोरी प्रयोग गरे पनि छोटो नै पर्थ्यो । प्रयास गर्दागर्दै माँ यशोदा निकै थकित भई सकेकी थिइन । अन्त्यमा यशोदा मैयाको दुरावस्था देखि स्वयं बाधिन पुगे । यस बाट कृष्णमा दया र मायाको स्वरुप पाउन सकिन्छ । नन्दबाबाको आगनमा दुई वटा वृक्षहरु एक साथ उभिएका थिए । ओखलमा बाँधिएका कृष्ण रुखको बिच बाट छिरेर तान्न लागे संयोगले दुईटै रुख ढलेर देव स्वरुपमा प्रकट भए । परापूर्वकालमा ब्रह्मषि नारदको श्रापका कारण तिनीहरु वृक्ष भएका थिए । विशाल वृक्षहरुलाई कलिलो बालकले ढाल्नु पराक्रमी कार्य हो । बर्षौ देखि श्राप व्यतित गरीरहेका व्यक्तिको उद्धार गर्ने श्रीकृष्ण मुक्तिदाता हुन । समयसमयमा गोकुलमा आतंक मचाउन आउने कागासुर,बकासुर,अघासुर ,प्रलम्बासुर जस्ता कयौं दानवहरुको संहार गर्ने श्रीकृष्ण संहार कर्ता हुन । यमुनाको निर्मल जललाई बिषाक्त बनाई गैयामैया,ग्वालबालहरुलाई मार्न खोज्ने कालिया नागको दमन गरी मानव जीवनको रक्षा गर्ने कृष्ण संरक्षणकर्ता हुन । दिपावली पश्चात सधैं बर्षाको देवताका रुपमा चिनिएका देवराज इन्द्रको पूजा गर्ने परम्परा गोकुलमा थियो । कृष्णको आग्रहमा देवराज इन्द्रको पूजा नगरेर प्रकृति रुपी गोवर्धन पर्वतको पूजा गर्ने कार्य पश्चात देवराज इन्द्र साह्रै क्रोधित भएर ऐरावत हातीमा सवार भई वृज माथी बज्रपात गर्न लागे साथै घनघोर बर्षा गराई बिताण्डा मचाउने लागे । सम्भावित दुर्घटनालाई मध्ये नजर गर्दै श्रीकृष्णले हातको कान्छी औलाले गोवर्धन पर्वतलाई उठाइ नन्दगाउँवासीको जीउ धनको रक्षा गरी इन्द्रको अहंकारलाई नष्ट गरे । प्रकृति पूजनलाई महत्व दिई बाल अवस्थामै विशाल गोवर्धन पर्वत उचाली आफ्नो पराक्रम प्रदर्शित गर्ने मौका पाए । कंशले मथुरामा आयोजना हुने धनुष यज्ञमा षडयन्त्रपूर्वक कृष्ण र बलरामलाई बोलाई मार्ने योजना अनुसार मन्त्री अक्रुरद्वारा बोलाउन लगाए । मावली नगर जान उत्साहित भएका दुई भाइहरु अक्रुर सँगै मथुरा आइ पुगे । दरबार परिसरमा घुम्ने क्रममा राजाका धोवीको धुलाई गरी शिव धनु समेतलाई भाचेर थप पराक्रम देखाए । लामो समय देखि श्रापका कारण कुरुप अवस्थामा रहेकी कुब्जालाई स्पर्श द्वारा सुन्दरी बनाइ दिए । यी सबै परिघटनाले मथुरामा कृष्णका कार्यहरुको निकै चर्चा हुन थाल्यो । मथुराका सडक तथा गल्लीहरुमा राजा कंशको परवाह नगरी श्रीकृष्णको जयजयकार सहित घरका अटाली र दैलोहरु बाट स्वतस्फूर्त रुपमा पुष्प वृष्टि हुन थाल्यो । यी परिदृश्य बाट कंश झन क्रोधित बन्दै गयो । कार्यक्रम आयोजना स्थलको प्रवेश द्वारमा हात्तीलाई मदिरा पान गराई कुल्चेर कृष्ण र बलराम मार्ने योजनालाई चुनौति दिदै मद्हातीलाई सहज रुपमा दुई भाइले मारी दिए । तत्पश्चात अखाडामा रहेका चाणुर र मुस्तक लगायत बलवान योद्धाहरुलाई अविश्वसनीय तरिकाले हिर्काउदै प्राणपखेरु उडाइ दिए । मानसिक रुपमा भयभित रहेको कंशलाई एक हातले पछार्दै दुराचारी कंशको बध गरे । बन्दी अवस्थामा रहेका उग्रसेनलाई मथुराको राजा बनाएर श्रीकृष्णले मथुरा बासीलाई न्याए दिलाए । कंशको वधसँगै श्रीकृष्णावतारको एक महत्वपूर्ण कार्य सम्पन्न भयो ।

मुरलीधर कृष्ण संगीतकारका रुपमा
श्रीकृष्णको पर्यायवाची नाम बंशी/ मुरली हो । श्री कृष्ण महान संगीतकार हुन । उनी आफ्नो गला र कलाले सबैलाई मन्त्रमुग्ध पार्दथे । सोह्र कलाबाट बिभुषित श्रीकृष्ण ६४ दिनमै सान्दिपनी ऋषिको आश्रममा ६४ प्रकारको शिक्षा प्राप्त गर्न सफल भए । छोटो समयमा श्री कृष्ण वेद,पुराण,नीति,नियम,समाजको आदर्श. मूल्यमान्यता. इतिहास,राजनीति, ज्ञान.विज्ञान, चिन्तनमनन, संगीत,शस्त्रअस्त्र लगायत सबै कुरामा निपुण भए । गोकुल , बृन्दावन,कुञ्जगलीमा कृष्ण मुरलीको धुन निकै चर्चित थियो । कृष्णको मुरली बज्ने बितिकै सबै आ-आफ्नो काम छोडी एकाग्र भएर मुरली धुनमा झुमि रहन्थे । कृष्णको मुरली बज्दा गाईगोरु चर्न छोड्थे । ग्वालबाल गोपीनीहरु मुरली धुन सुन्दै रमाउथे । वनचर प्राणीहरु सबै कार्यहरु छोडी शालिनतापूर्वक संयमित भई मुरलीको धुन सँगै नाच्दथे । मुरलीको धुनले सबैलाई मोहित पार्दथ्यो । कालिया दमन गरी नागको फणामा चढेर मोरली बजाउदै नाच्दै गरेको कृष्णलिला ब्रह्माण्डमा अलौकिक मानिन्छ ।

न्यायका प्रतिमूर्ति कृष्ण
श्रीकृष्णलाई न्यायको प्रतिमूर्तिका रुपमा पनि चिनिन्छ । जहाँ अन्याय त्यहाँ कृष्ण । धर्म स्थापना र अन्यायमा परेका व्यक्ति र समाजलाई न्यायको प्रत्याभुति दिलाउनु श्रीकृष्ण जन्मको सार्थकता हो । बाल्यकाल देखि नै अन्याय अत्यारको विरुद्धमा हरदम आवाज उठाउने कृष्ण सदैव न्याय र निष्ठाको पक्षपाती थिए । धर्म पुरुषको रुपमा जानिएका श्रीकृष्ण सनातन धर्म संरक्षणमा अग्रसर थिए । श्रीकृष्ण जीवन कालमा थुप्रै धर्म युद्धहरु भएको देखिन्छ । हरेक युद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृष्णको संलग्नता रहेको देखिन्छ । श्रीकृष्ण युद्धमा पराजित भएको कुनै घटना छैन । द्रौपदीको चिरहरणका समयमा अदृश्य तरिकाले नारीत्वको संरक्षण गरी न्याय दिलाए । कौरव र पाण्डवहरुको धर्म युद्धमा धर्मको पक्षलाई साथ दिदै अहंकारी, दुराचारी कौरवहरुको सर्वनाश गराइ हस्तिनापुरमा न्याय दिलाए । नरकासुर जस्तो व्यभिचारी स्त्री लम्पटलाई मारेर थुनामा रहेकी १६१०८ जना युवतीहरुको उद्धार गरे । उद्धार गरिएकी युवतीहरुलाई घरपरिवार तथा समाजले स्वीकार नगर्दा अपनत्व लिदै ती युवतीहरुलाई श्रीमतीको रुपमा स्वीकार गरे । जरासन्ध जस्तो अधम राजाले १७ पटक सम्म आक्रमण गर्दा सहेर बसे । बरु समुद्रमा विशाल भव्य द्वारिका नगरी निर्माण गरी त्यतै तिर लागे । छोटो समयमा विशाल नगरी स्थापना गर्ने श्रीकृष्णको यो कार्यलाई आधुनिक समाजमा विकासप्रेमीका रुपमा लिन सकिन्छ । महाबली भीमसेनद्वारा जरासन्धको बध गराइ बन्दी बनाएका राजाहरुलाई मुक्त गरेर तिनीहरुको राज्य फिर्ता गराई लोक कल्याणको काम गरे । सयौं पटक सम्म चेदी राजकुमार शिशुपालले गालीगलौज,अपमान र निन्दा गर्दा समेत सहने श्रीकृष्ण सहनशिलताका पुजारी बने । कसैको हात बाट नमर्ने वरदान प्राप्त करोडौ म्लेच्छ सेनाधारी कालयवन जस्तो भयानक राक्षसको वधका लागि भगवान स्वयं भाग्दै भाग्दै देवताहरुको पक्षमा लडेर थकित भई विश्रामका लागि चीर निद्रा सहित ओडारमा सुतेका मुचुकुन्द राजाको प्रयोग बाटकालयवन राक्षसको भष्म खरानी बनाए । यस कारणले श्रीकृष्णलाई सर्वज्ञ,अन्तरयामी आवश्यकता अनुसारको व्यवस्था मिलाउने कुशल संगठक, व्यवस्थापकको रुपमा चिन्न सकिन्छ । श्रीकृष्ण आफ्नो राज्य बिस्तारका लागि कहिल्यै लालायित भएनन । अन्याय र अत्याचारका विरुद्धमा सधै युद्ध गरे । युद्धबाट विजय गरेका राज्यहरुमा तिनका उतराधिकारीलाई राजा बनाई सम्पूर्ण जनताहरुलाई न्याय दिलाए ।

विराट स्वरुपधारीश्रीकृष्ण
कृष्णअवतारलाई श्रीहरिको पूर्णअवतार मानिन्छ । आवश्यकता अनुसार कृष्णले समयसमयमा विराट स्वरुप धारण गरेका छन । शंख .चक्र,गदा,पद्म धारी कृष्णको अद्वितीय विराट स्वरुप हो । धर्म युद्ध लड्न लागेका पाण्डवहरु मध्येका धनुर्धारी अर्जुन युद्ध बाट विचलित भई कुरु क्षेत्र बाट निस्कन खोज्दा कृष्णले अनेकन तरहले सम्झाउँछन तथापि अर्जुन युद्ध स्वीकार गर्दैनन् । कर्मयोग,ज्ञान योग र भक्ति योगका प्रणेता श्रीकृष्णले अनेकन तरहले अर्जुनलाई ज्ञान दिन्छन । युद्ध मैदानमा चतर्भुज सहित विराट स्वरुपमा प्रकट हुन्छन र यस बाट प्रभावित भएर अर्जुन युद्ध गर्न तयार हुन्छन । कुरु क्षेत्रको युद्ध मैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञानयोग ,कर्मयोग र भक्तियोगको सम्मिश्रणलाई श्रीमद्भागवत गीता भनिन्छ । जुन संसारकै सर्वोत्कृष्ट ग्रन्थ मानिन्छ । कहिले अदृश्य त कहिले दृश्य स्वरुपमा भगवानले लोककल्याणकारी कार्यहरु गर्नु भयो ।

ब्रह्माण्डमा श्री कृष्णको नाम लिँदा मात्र मानव जीवनमा परम सुख परम आनन्द प्राप्ती हुन्छ । आत्माको परमात्मा सँग मिलनको नाम हो कृष्ण । कृष्ण यस्तो नाम हो जसमा सबै गुणको समागम छ । कृष्ण चरित्रमा आमाले पुत्रको रुपमा,प्रेमीकाले प्रेमीको रुपमा,एक सखाले सखीको रुपमार एक भक्तले आफ्नो आरध्यदेवको रुपमा देख्छन । एक भक्तको लागि श्री कृष्ण भगवान त हुन नै साथै गुरु पनि हुन जो जीवन जिउने कला पनि सिकाउँछन । भगवान श्रीकृष्ण विलक्षण,अद्भुत,महान योग्यता प्राप्त व्यक्ति हुन । उनी पूर्वीय संस्कृतिको अद्वितीय व्यक्ति एवं महानायक पनि हुन । कृष्णको व्यक्तित्वलाई कुनै अवतार र संसारको महापुरुष सँग तुलना गर्न मिल्दैन । जो ज्ञानी ध्यानी खोजेर हार खान्छन जो न ब्रह्माणमा मिल्छन न पुराणमा मिल्छन न त वेदको ऋचामा नै मिल्छन । उनी मिल्छन त केवल गोकुलमा, बृज भुमिमा ,मन मष्तिस्कमा, गोपिनीहरुको हृदयमा, ग्वालबालहरुको मुटुमा,कुञ्जगलीको प्रत्येक पाइलापाइलामा वृक्षहरुमा, लता लहराहरुमा । कृष्ण लिला थाहा पाउनु निकै कठिन छ । श्याम सुन्दर शरीर,हर्षित मुहार,शितल स्वभाव जो कसै मानिसलाई पनि मनमोहक बनाउछ । कृष्णजीको चातुर्यता,युद्ध नीति हाम्रो जीवनका प्रेरणाका स्रोत हुन ।कृष्णको व्यक्तित्वको विलक्षण प्रतिभा हरेक मानवलाई मार्गदर्शन गर्दछ । कृष्णले विलक्षण प्रतिभा स्वरुप अजन्मा भएर पनि देवकीको कोख बाट जन्म लिए । मृत्युञ्जय भएर पनि साधारण व्याधाको बाण बाट मृत्यु वरण गरे । विश्व ब्रह्माण्डका शक्तिमान भएर पनि कृष्णको बन्दी गृहमा जन्म लिए । वासुदेव र देवकी पुत्र भएर पनि गोकुलमा बाल्यकाल बिताए । पुतना राक्षसीको बध गरेर कृष्णले बाल्यावस्थामै चामत्कारिक कार्य गरे । कंशको अत्याचार बाट मुक्त गर्न आफ्नै सहोदर मामाको वध गरी मथुरावासीको मन जित्न सफल भए । संसारलाई बाध्नेवाला परम शक्तिवान माँ यशोदा बाट डोरीले बाधिए । यशोदालाई कृष्णले मुख भित्र ब्रह्माणको दर्शन गराए ।द्वारिकाधिस भएर पनि चरम गरिबी जीवनयापन गर्ने सुदामासँग आलिङगन गरेर परम मित्रता कायम गरे । जहाँ पाण्डवलाई धर्म युद्धका लागि प्रेरित गरी कौरव संहार गर्ने वालकृष्ण ,दुश्शासन जस्तो नारीको अपमान गर्ने अहंकारी बाट अदृश्य तवरले द्रौपदीको चीर हरण हुन बाट बचाएर सम्पूर्ण नारी जातीको इज्जत जोगाए । राधारानीको बाल सखा भएर जन्मजन्मान्तरर प्रेमी कहलाइए । जबरजस्त शिशुपाल सँग विवाह हुन लागेकी रुक्मिणीको अपहरण गरि उनको इच्छा अनुसार द्वारिकाकी महारानी बनाए । एका तिर मुरली बजाएर गोपीनीहरुलाई रास रचाए भने अर्को तिर अर्जुनलाई गीताको उपदेश दिएर युद्धको निर्देशन दिए । रुक्मिणीका श्रीकृष्णले दुष्टको संहारका लागि हातमा सुदर्शन चक्र धारण गरे भने राधाका कनैह्याले माधुर्यता र प्रितीको रस बर्षाउनका लागि कम्मरमा बंशि धारण गरे । राधिकाका लागि कनैह्या,रुक्मिणिका लागि कृष्ण कहलाइएका श्रीकृष्णले आफ्नो लिला मार्फत सबैको मनमष्तिस्कमा बस्न सफल भए । कृष्ण एक यस्ता आदर्श व्यक्ति हुन जो अर्जुनको मानसिक वेदनाको निदान गर्ने समय एक मनोवैज्ञानिक,कंशादि असुरहरुको संहार गर्ने समय एक धर्माअवतार,महाभारतमा एक आदर्श राजनितिज्ञ,बंशी बजैयाका रुपमा एक बरिष्ठ संगीतज्ञ,वृज वासीका समक्ष एक प्रेमाअवतार, सुदामाका लागि एक आदर्श मित्र,सुदर्शन चक्रधारीका रुपमा एक महान योद्धा,कृष्ण सम्पूर्ण हुन,कृष्ण तजोमय हुन, कृष्ण ब्रह्म हुन, कृष्ण ज्ञानी हुन, कृष्णले मानव जातीलाई नयाँ जीवन दर्शन दिए । जिउनेकला सिकाए । कृष्ण भगवान भएर पनि सामान्य मानिस जस्तै लाग्छन । यसैले कृष्णलाई मानवीय भावना इच्छा र कलाको प्रतिक मानिन्छन । हरेक युगमा समाजले हाम्रो सामु सवाल राख्दछन ।कृष्णले यस्ता तमामौ सवालहरुको जवाफ दिएर तारणहार बने । आध्यात्मिक बिराट आकाशमा कृष्ण यस्ता एक्ला व्यक्ति हुन जो धर्मको परम गहिराई र उचाइमा गएर पनि न गम्भिर देखिन्छन न उदास देखिन्छन तर पूर्ण रुपमा जीवनमा शक्तिको भरपुर व्यक्ति देखिन्छन । श्रीकृष्ण चरित्रमा गीत,संगीत,नृत्य, प्रीति,समर्पण,हास्य,रास,धर्म,कर्म, सदाचार,मित्रता,सहनशिलता,प्रेम र युद्ध आदिको समागम छ । धर्मको स्थापनाका लागि महायुद्धको घोषणा गरे । एक हातमा बासुरी दोस्रो हातमा सुदर्शन चक्र लिएर महान इतिहास रच्नेवाला कृष्ण महान व्यक्तित्व हुन । उनी संसारलाई प्रेम गर्छन त पूर्ण रुपमा प्रेममा डुब्छन । मित्रता गर्छन त पूर्ण निष्ठावान भएर ।
जब युद्ध स्वीकार गर्छन तब पूर्ण रुपमा युद्ध गर्छन । कृष्ण लामो समय सम्म राधा सँग रहेनन् तर युगौयुग सम्म सबैको मन मष्तिस्कमा मिल्छन । कृष्ण खोजेर कतै पाइदैनन्। श्रद्धापूर्वक प्रेम गरेर मात्र कृष्ण भेटिन्छन अनि जीवन भर साथ निभाउनमा पछि पर्दैनन। कृष्ण सृष्टिका सबै भन्दा असल मित्र हुन । राधिका हो या सुदामा कृष्णले मित्रता निभाए जो इतिहास सुवर्ण अक्षरले लेखिएको छ । मनुष्यको इच्छा अनुसारको चीज कहिल्यै मिल्दैन केही न केही छुट्छ नै । हाम्रो आजको पुस्ता केही गुमाउदा विचलित हुन्छन । त्यस्ताले कृष्णलाई गुरु बनाउनु पर्ने देखिन्छ किनकि जति श्रीकृष्णले गुमाउनु परेको छ त्यति आज सम्म कसैले पनि गुमाउनु परेको छैन । कृष्णबाट जन्मदै आमा छुटिन,बुवा छुटे । बृज,नन्द,गोकुल केही समय पछि छुटे । ग्वालबालहरु छुटे,राधिका छुटिन ,मथुरा पनि छुट्यो । द्वारीका छुट्यो । नातागोता भाईबन्धु इष्टमित्र सबै छुटे । अन्त्यमा सबै यदुवंशी पनि गुमे ।कृष्णको जीवनमा केही न केही छुट्दै गए । कृष्ण जीवन भर त्याग गर्दै गए । वास्तवमा जो कृष्णलाई चिन्छन ती कहिल्यै चिन्ता र डिप्रेसनमा जादैनन । कृष्ण आनन्दका देवता हुन । धेरै चिज गुमाएर पनि सधै खुशी नै रहे । कहिल्यै दुखी देखिएनन। जो प्रेमका सागर हुन प्रितीका गागर हुन । जो चेतनाका चिन्तन हुन आत्माका मन्थन हुन । जो गाईका ग्वाला हुन अमृतका प्याला हुन । राधाका प्रियतम हुन रुक्मिणीमा श्रीमान । जो यशोदाका लाल हुन नन्दका गोपाल हुन । उनी नै कनैह्या हुन, उनी नै कृष्ण हुन । श्री कृष्णलाई सच्चा प्रेम गरी आदर्श जीवन बिताउनु आजको आवश्यकता हो ।व्यक्ति एक स्वरुप अनेक भएका बहुआयामिक विराट स्वरुपधारी श्रीकृष्णमा सभक्ति यो लेख अर्पण गर्दछु ।
ॐ श्रीकृष्णार्पणमस्तु ।

लेखक चौरपाटी गाउँपालिका शिक्षा शाखामा शिक्षा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया