Advertisement
SKIP THIS
किन एउटा मात्र बच्चा जन्माउने दम्पती बढे

बीबीसी:तपाईं कतिजना भाइबहिनी हुनुहुन्छ ? यो प्रश्न सायद हामीले दैनिक जीवनमा धेरैपटक सामना गरेका हुन्छौं र कतिलाई सोधेका पनि हुन्छौं ।

आफ्ना समवयीहरुबाट हामीले प्रायः पाउने जवाफ हुन्छ- हामी दुई भाइबहिनी हौं, हामी तीन/चार भाइबहिनी हौं आदि आदि ।

आफू बुवाआमाको एकमात्र सन्तान हुँ र मेरो पनि एकमात्र बच्चा छ भन्ने जवाफ सायद निकै कम मान्छेबाट आउँछ हामीकहाँ ।
तर यदि तपाईं अमेरिका वा युरोपका कुनै देशमा बस्नुहुन्छ भने एक मात्र सन्तान अर्थात् सिंगल चाइल्ड हुने कुरा आम रुपमा सामान्य बनिसकेको छ ।

वास्तवमा अमेरिका तथा युरोपका विभिन्न देशहरुमा पछिल्ला केही वर्षमा ‘वान चाइल्ड एण्ड डन’ अर्थात् एउटा बच्चा, अब पुग्यो भन्ने ट्रेण्ड बढिरहेको छ ।

ती पश्चिमा देशहरुमा अधिकांश विवाहित मानिसहरु एकभन्दा धेरै बच्चा जन्माउन चाहँदैनन् ।

क्यानडाको ओन्टारियोमा बस्ने ३१ वर्षीया जेन डाल्टन पहिले चारजना बच्चा जन्माउन चाहन्थिन् र यसका लागि उनले पूरै तयारी पनि गरेकी थिइन् ।

तर सन् २०१८ मा उनकी छोरी जन्मिएको ठीक दुई महिनापछि जेन र उनका पतिको अब दोस्रो बच्चा नजन्माउने निधो गरे । अर्थात् उनीहरुले एक बच्चा, बस पर्याप्त अर्थात् वान चाइल्ड एण्ड डनको नीति अंगीकार गर्ने निर्णय गरे ।

तथापि यस्तो निर्णय गर्ने डाल्टन एक्ली महिला होइनन् ।

युरोपमा बालबच्चा भएका दम्पतीमध्ये ४९ प्रतिशत दम्पतीको केवल एकजना मात्रै बच्चा छ । त्यस्तै क्यानडामा एकमात्र बच्चा हुने परिवारको संख्या बढेर ४५ प्रतिशतमा पुगेको छ, जुन सन् २००१ मा ३७ प्रतिशत थियो ।

त्यस्तै सन् १९७६ मा १० प्रतिशत अमेरिकी महिलाको एकमात्र बच्चा रहेकोमा २०१५ मा बढेर १८ प्रतिशत पुगेको थियो ।

एकमात्र बच्चाको पक्षमा तर्क

One and only : the freedom of having an only child तथा The joy of being one जस्ता पुस्तकका लेखक तथा खोज पत्रकार लरेन स्याण्डलरका अनुसार उनी आफ्ना बच्चालाई लिएर निकै आशक्त थिइन् । तर उनलाई आफ्नो करिअर पनि निकै मनपर्ने विषय थियो । त्यसैले उनले एकजना मात्र बच्चा जन्माउनु सही बाटो भएको ठहर गरिन् ।

एक अध्ययन अनुसार अमेरिकामा दुईवटा बच्चाको पालनपोषणमा औषतमा करीब ३ लाख डलर खर्च हुन्छ, जसमा कलेजको शैक्षिक शुल्क सामेल छैन ।

त्यस्तै बेलायतमा एउटा बच्चाको लालनपालनमा करिब २ लाख डलर खर्च हुन्छ भने अष्ट्रेलियामा एक लाख सात हजार डलर ।

क्यानडाको क्यालगरीमा बस्ने २५ वर्षीया भिक्टोरिया फाहेलाई जलवायु परिवर्तनको पनि चिन्ता छ । उनी भन्छिन्, ‘स्रोत साधनका लागि लडाइँ हुनेछ । म चाहन्छु कि मेरा सन्तानलाई पानी कहाँ पाइएला भन्ने कुराको चिन्ता कहिल्यै पनि नहोस् ।’

एउटा मात्र बच्चा जन्माउने निर्णय लिनुमा आर्थिक कारण पनि छन् ।

युरापमा बच्चा जन्मिएपश्चात् महिलाहरुको पारिश्रमिकमा औसत ३.६ प्रतिशतको गिरावट देखिएको छ । अमेरिका जस्ता देशमा पनि एउटा अध्ययनले के देखाएको छ भने बच्चा नभएका महिला कर्मचारी र दुई वा तीनजना बच्चाकी आमा रहेकी महिला कर्मचारीको पारिश्रमिकमा १३ प्रतिशतको अन्तर रहेको छ ।

बेलायतको कर्नवालमा बस्ने ३३ वर्षीया लारा बेनेटका अनुसार एउटा मात्रै बच्चाको कारण उनी एक असल पार्टनर बन्न सक्छिन् । एउटा मात्रै बच्चा भयो भने निकै आरामसँग साथीहरुसँग सप्ताहन्तमा वा विदाका क्रममा घुम्न जान सकिन्छ । साथै आफ्नो पार्टनर समेत आफ्ना साथीहरुसँगै जाँदा पनि यसका लागि कुनै समस्या हुनेछैन ।

सामाजिक दबाब

विश्वका विभिन्न ८६ वटा देशमा गरिएको अध्ययन अनुसार पहिलो बच्चा जन्मिएको एक वर्षसम्म आमाबुवा निकै खुसी हुन्छन् । तर दोस्रो बच्चा जन्मिएसँगै उनीहरुको खुसी आधाले घट्ने र तेस्रो बच्चा जन्मिएपछि त खुसी सबै सकिने गरेको अध्ययनको निष्कर्ष छ ।

यद्यपि कतिपय देशहरुमा अहिले केवल एउटामात्रै बच्चा जन्माउने चलन बढिरहेको छ, तथापि एकभन्दा धेरै बच्चा जन्माउने सामाजिक दबाब दम्पतीहरुमा पर्ने गरेको देखिन्छ ।

अधिकांश अभिभावकहरुको गुनासो हुने गर्छ कि उनीहरुमाथि परिवारका अन्य सदस्यदेखि सडकमा हिँड्ने अपरिचित मानिसहरुबाट समेत एकभन्दा धेरै बच्चा जन्माउनका लागि दबाब आउने गर्दछ ।

जो माता पिताले एउटा मात्रै बच्चा जन्माउँछन् उनीहरुले अन्य मानिसमात्र नभई आफैंलाई पनि यो विश्वास दिलाउनु पर्दछ कि यसो गरेर आफूले ठीक गरिरहेको छु।

तपाईको प्रतिक्रिया