Advertisement
SKIP THIS
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौँ:पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।
महराका बाबु–छोराले सुन तस्करसँग पटकपटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको भनी संसद्‍मा पनि आलोचना भएको थियो।

यसअघि महरा र पुत्र राहुलले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत भन्दै आफ्नो बचाउ गरेका थिए।

तर चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो।

तस्करहरुले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।

तपाईको प्रतिक्रिया