Advertisement
SKIP THIS
म्याद थपेको थप्यै, काम सुस्त सुस्तै: बुटवल–नारायणगढ सडक

बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ठेक्का लिएर २०७५ चैतबाट निर्माण सुरु भई ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो । अहिलेको थप सम्झौतामा आयोजनाको म्याद एक वर्षलाई थपिएको छ । 

आयोजनाका अनुसार आयोजनाका भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्र भएको छ । दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ । हालसम्म दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत काम भएको छ । त्यस्तै, खर्चको हिसावले  पूर्वमा २९ प्रतिशत र पश्चिममा २३ प्रतिशत भएको छ ।

गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार  र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ। 

सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड बुटवल–नारायणगढको ११४ किलोमिटर सडक सहरी भेगमा ‘सिक्स लेन’ र जङ्गली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । 

तपाईको प्रतिक्रिया