Advertisement
SKIP THIS
सुदूर पहाडमा लामो समयदेखि हवाइ सेवा ठप्प,

धनगढीः बैतडीको पाटनमा विमास्थल छ। तर, हवाई सेवा बन्द भएको एक वर्ष बढी भइसकेको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुँदै आएको उडान सेवा पछिल्लो समय पूर्ण रुपमा बन्द छ। साताको एक दिन बिहीवार समिट एयरले उडान भर्दै आएकामा लामो समयदेखि यस्तो सेवा बन्द छ। यात्रु अभावको कारण देखाउदै सेवा बन्द भएको छ। समिट एयर जहाजको अठार यात्रु क्षमता रहेको छ। पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको छ। १७ मिनेटको हवाई यात्राका लागि पाँच हजार भाडा तोकिएपछि यात्रु पाइने छोडेको दाबी छ।

सुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार आठ सय ५० रुपैयाँ भाडा तोकिएको थियो। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बैतडी, डोटी र अछामको हवाइ सेवा बन्द रहेको बताए। उनले भने, ‘मौसमका कारण समस्या छ। बैतडी, डोटी र अछामा छैन। डोटीमा नेपाल एयरलाइन्सले तीन दिन राखेको छ। बाटो खराब भएपछि आइतवार, सोमवार र मंगलवार राखेको छ। तर, मौसमका कारण उडान भएको छैन।’

लामो समयदेखि बैतडी, डोटी र अछामको हवाई सेवा नियमित छैन। पहाडी जिल्लाबाट आकस्मिकरूपमा धनगढी आउनुपर्ने नागरिकलाई समस्या हुने गरेको छ। हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि आउने नागरिकलाई समस्या हुने गरेको छ। २०३६ सालदेखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ सालमा बन्द भएको थियो। सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल २६ वर्षपछि पुनः २०७७ सालमा सञ्चालनमा आएको थियो।

२०७७ असोज १७ गते समिट एयरले परीक्षण उडान गरेको थियो। धनगढी विमानस्थलका प्रमुख भट्टले मौसमका कारण पहाडी जिल्लाबाट विमानले सेवा दिन नसकेको बताए। ‘धनगढीबाट बझाङ, बाजुरा र साँफे उडान हुँदै आएको थियो। अहिले मौसमका कारण रद्द हुने गरेको छ। कहिलेकाही मात्र हुने गरेको छ,’ उनले भने। भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएका बेला हवाइ यातायातसमेत प्रभावित भएको हो।

समिट एयरसँगै नेपाल बायुसेवा निगमले पनि पहाडी जिल्लामा नियमित उडान भर्ने गरेको छैन। पहाडी जिल्लाको मौसम खराब हुने गरेको कारण देखाउदै उडान रद्ध हुने गरेको दाबी छ। विमानस्थल निर्माण र स्तरोन्नतीको नाममा करोडौँ रुपैयाँ खर्च भइसक्दा पनि उडान सेवा भने अझै अनिश्चित बन्न पुगेको हो। पहाडी जिल्ला बैतडी, डोटी र अछामबाट हुँदै आएको उडान यतिबेला बन्द छ।

नेपाल सरकारले उडानका लागि स्वीकृती दिएका नेपाल बायुसेवा निगमसहितका निजी कम्पनीहरुले उडान भर्ने गरेका छैनन। डडेल्धुरा बाहेक पहाडी सबै जिल्लामा विमानस्थल छन्। तर सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको समयमा समेत हवाई सेवा नियमित नहुँदा प्रदेशवासीले दुःख पाइरहेका छन्।

तपाईको प्रतिक्रिया