Advertisement
SKIP THIS
फुटबल राष्ट्रिय खेलाडी शाहलाई प्रहरीकै सइ थापाले मरणासन्न कुटेपनि जाहेरी दर्ता भएन

काठमाडौं:फुटबलका राष्ट्रिय खेलाडी भरत शाह नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रितेश थापाको कुटाइबाट गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीकै कर्मचारी रहेका शाहमाथि यसरी मरणासन्न हुने गरी कुटपिट हुँदा पनि प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । 

खेलाडी शाह नेपाल प्रहरीकै सहायक हवल्दार हुन् । हाल बिएन्डबी अस्पतालमा उपचार गराइरहेका उनका दाइ मनोज शाहले प्रहरी वृत्त मालीगाउँमा कुटपिटमा संलग्नविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । उनले रितेशसहित प्रहरीकै वरिष्ठ सइ अनन्तराज थापाविरुद्ध समेत जाहेरी दिएका छन् । अनन्त र रितेश पनि राष्ट्रिय टिमका पूर्वखेलाडी हुन् । 

घटना गत १० साउनको हो । रितेशले नै भरतलाई भत्केको पुलछेउको झिर रेस्टुरेन्टमा बोलाएका थिए । अनन्तको अस्ट्रेलियाको भिसा लागेको अवसर भनेर सो पार्टी आयोजना गरिएको थियो । दुवैजनाले त्यहाँ बियर पिएका थिए । पछि विवाद भएपछि रितेशले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरमा १८ टाँका लगाएका भरत अहिलेसम्म अस्पतालमै छन् । उनको हातको समेत अप्रेसन गरिएको छ । उनका दाइ मनोजका अनुसार त्यहीँ रहेका अनन्तराज थापाले समेत आक्रमणका लागि उक्साएकाले उनीविरुद्ध समेत जाहेरी दिइएको हो । हत्या नै गर्ने उद्देश्यले आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग मुद्दामा मनोजले जाहेरी दिए पनि दर्ता भएको छैन ।

‘बुधबार महानगरीय प्रहरी वृत्त मालीगाउँ जाँदा भोलि आउन भनियो । बिहीबार लिखित जाहेरी लिएर जाँदा डिएसपीले हवल्दारको जिम्मा लगाउनुभयो । हवल्दारले ‘यो जाहेरी हामी लिँदैनौं, टेकु जानुस्’ भन्नुभयो । टेकु जाँदा एसपीले डिएसपीलाई खटाउनुभयो । टेकुको डिएसपीले मालीगाउँको डिएसपीलाई फोन गर्दा ‘माथिबाट जाहेरी नलिन आदेश छ’ भनेर जवाफ दिनुभयो,’ मनोजले गुनासो गरे, ‘अब शुक्रबार उपत्यका हेर्ने प्रहरी कार्यालय जान्छौँ । भाइलाई रेस्टुरेन्टमा बोलाएर कुटपिट गरिएको छ । शरीरभर ४० भन्दा धेरै टाँका छन् । टाउकोमा मात्र १८ टाँका छन् । अहिले उपचार त प्रहरीले गरिरहेको छ । तर, हामीले न्याय पाउनुपर्छ ।’ 

रितेशलाई निलम्बन गरी यस विषयमा थप छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । प्रहरीले आन्तरिक रूपमा घटनाको छानबिन गरिरहेको छ । दुवैजना प्रहरी कर्मचारी भएकाले छानबिनपछि फौजदारी कारबाहीको विषयमा अघि बढाउन लागिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा निर्णय भइनसकेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । 

एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले घटनाको सिसिटिभी फुटेल ल्याएर अध्ययन गरेको छ । फुटेजमा सुरुमा रितेशले भरतलाई लात्ताले हानेको र त्यसपछि भरत रिसाएको देखिन्छ । पछि उनीहरूबीच विवाद भएको र अनन्तले दुवैजनालाई सम्झाउने प्रयास गरेका छन् । पछि एक्कासि रितेशले बियरको ग्लासले आक्रमण गरेका छन् । सो ग्लास फुटेर अर्काे टेबुलमा बसेकी महिलालाईसमेत लागेको छ । घटनालगत्तै अनन्त निस्किएका छन् ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया