Advertisement
SKIP THIS
कांग्रेसझैँ  माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भनेपछि माओवादीमा बिवाद

काठमाडौं :नेपाली कांग्रेसले झैँ नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेपछि पार्टीका नेताहरूले असन्तुष्टि जनाएका छन्। सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो। सचिव डिलाराम आचार्यका अनुसार पाँच दिनसम्म चल्ने बैठक पार्टीले आधिकारिक ढंगबाट पेजबाट सुरुआतदेखि अन्त्यसम्म फेसबुक लाइभ गर्छ।

तर, पार्टीको पोलिटब्युरो सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ पार्टी बैठक लाइभ गर्न नहुने बताउँछन्। उनले भने, ‘पार्टीको बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरङ्ग छलफल लाइभ गर्ने विषय होइनन् । ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ।’

सापकोटाको भनाइमा केन्द्रीय सदस्य रञ्जित तामाङ पनि सहमत छन्। उनले भने, ‘फेसबुक लाइभ गर्ने अहिलेको सूचना प्रविधिको जमानामा नौलो होइन। तर, कार्यकर्ता आधारित पार्टीहरूले पार्टीभित्रका बहसहरूलाई अरू लोकतान्त्रिक पार्टी सोसरह बाहिर लैजाने कुरालाई राम्रो मानिँदैन।’

प्रविधिको जमाना र सरकारको नेतृत्व गरेको पार्टीभित्रको बहसले राष्ट्रिय राजनीतिको एजेन्डामा पनि प्रभाव पार्ने उनले बताए। उनले भने, ‘बैठकको लाइभ नै भए पनि व्यक्तिगत रूपमा त समस्या हुँदैन। तर, पार्टी कार्यकर्ताहरूमा चाहिँ फेसबुक लाइभले पार्टीलाई बलियो बनाउँदैन।आन्तरिक छलफल बहस अन्तरसंघर्ष र पार्टीभित्र उठेका तीता मिठा कुराहरूलाई पार्टीभित्रबाटै हल गर्नुपर्छ। र बाहिर नीति एजेन्डा र कार्यक्रम लिएर जानुपर्छ।’

पार्टीभित्रका बहसका कुराहरूलाई बग्रेल्ती छरपस्ट पार्नु उपयुक्त नहुने उनको बुझाइ छ। उनले अनावश्यक आलोचकहरूलाई मसला दिने काम गर्न नहुने उनको तर्क छ।

कांग्रेसकै सिको गरेर बैठक लाइभ गर्न लागिएको भन्ने आरोप पनि छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले उहाँहरूले सहजपूर्वक लिन्छन्। उनीहरूको लागि उपयुक्त नै छ। तर, हाम्रो लागि उपयुक्त होइन।’

तर, सचिव गणेश शाह पार्टीलाई प्रविधिमैत्री बनाउने सकारात्मक भएको जिकिर गर्छन्। उनी भन्छन्, ‘प्रविधिको प्रयोग गर्नु राम्रो हो। यसले पारदर्शिता कायम गर्छ। जनताले पनि पार्टीभित्रको गतिविधि हेर्ने र बुझ्ने मौका पाउँछन्।’ बैठकको लाइभ गर्नेबारे पार्टीकै नेताहरूले असन्तुष्टि पोखिरहेका छन् नि भन्ने जिज्ञासामा उनले भने, ‘पार्टीभित्रको लोकतान्त्रिकरणको सुन्दर पक्ष नै यही हो। एउटा ठिक देखेको अर्कोले ठिक देख्दैन। पहिला बैठकमा लाइभ नभएपनि भित्रैबाट सबै कुरा पठाउने गरेका थिए। त्यो गर्नुभन्दा त पूर्णरुपमा लाइभ गर्नु नै ठिक हो नि।’

उनले पार्टीभित्र नेताहरूले उठाएको विषयमा पार्टीभित्र छलफल हुने बताए। उनले भने, ‘नेताहरूले पनि कुरा उठाउनुभएको छ। अब उहाँहरूको कुरा पनि सम्बोधन होला कि नहोला। सबै लाइभ गर्ने वा कति लाइभ गर्ने भन्नेबारे अहिले भन्न सक्ने अवस्था छैन।’ उनले बैठकको एजेन्डा भोलि बिहान बस्ने स्थायी कमिटीको बैठकले टुंग्याउने बताए। राजनीतिक, संगठनात्मक प्रतिवेदन, विधान सम्मेलन, कार्य विभाजनलगायतको विषयमा बैठक केन्द्रित हुने उनले सुनाए।

सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ।एजेन्डाबारे केन्द्रीय समितिले निर्णय गरेर चैतसम्ममा विधान महाधिवेशन गर्नेबारे पनि माओवादीको तयारी छ । माओवादी विधि र विधान अनुसार नचलेको तीव्र गुनासो आएपछि विधान सम्मेलनदेखि विशेष महाधिवेशनसम्म गर्न लागेको छ। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न माओवादीको तयारी छ। ८ औँ महाधिवेशनमा अध्यक्ष प्रचण्डले चयन गरेको पदाधिकारी टिमले काम गर्न नसकेको पार्टीभित्रकै नेताहरूको आरोप छ।

तपाईको प्रतिक्रिया